नेप्से ८.१४ अङ्कले घट्याे, कारोबार रकम ३ अर्ब ९० करोडमा खुम्चियो

काठमाडौँ, २८ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सामान्य अङ्कले बढेको नेप्से यस दिन पुनः ८.१४ अङ्कले घटेर २,७२८.०३ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि गिरावट आएको छ।

यस दिन ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स १.०९ अङ्क, फ्लोट इण्डेक्स ०.४२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अङ्कले घटेका छन्। बुधबार ४ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा बिहीबार भने कारोबार रकम घटेर ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार रुपैयाँमा सीमित भएको छ। यस दिन ३५० कम्पनीका ९२ लाख ३१ हजार कित्ता सेयर ५८ हजार ३९१ पटकको कारोबारमा खरिदबिक्री भएका छन्।

कारोबार भएका कम्पनीहरूमध्ये सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य करिब साढे ८ प्रतिशत र अप्पर लोहोरे खोला हाइड्रोपावरको मूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। अर्कातर्फ, सप्ताकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १३.५१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिटी होटल शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २३ करोड ६३ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो। यस्तै, सेन्ट्रल फाइनान्सको साढे १७ करोड रुपैयाँभन्दा बढी र बुङ्गल हाइड्रोपावरको १६ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक घटेको छ भने केवल २ उपसमूह (होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन) को सूचकमा सामान्य वृद्धि भएको छ।