अर्थमन्त्रीले सांसदहरूलाई धम्की दिनु र प्रधानमन्त्री संसद्‌मा उपस्थित नहुनु घोर अपमान हो: अर्जुननरसिंह केसी

काठमाडौँ, २९ जेठ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको संसद्‌मा निरन्तरको अनुपस्थिति र अर्थमन्त्रीले सांसदहरूलाई दिएको धम्कीप्रति कडा आपत्ति जनाउनुभएको छ। प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद केसीले संसद् प्रश्न गर्ने, नीति विमर्श गर्ने र स्वस्थ बहस गर्ने थलो भएकाले यसको गरिमा कायम राख्न सबैलाई आग्रह गर्नुभयो।

सांसद केसीले बजेट र करका दर हेरफेरको विषयमा प्रश्न उठाउने सांसदहरूलाई लक्षित गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘काण्डको फाइल खोल्ने’ भनी दिएको अभिव्यक्ति संसदीय मर्यादामाथिको अपमान भएको टिप्पणी गर्नुभयो।

“प्रश्न गर्ने नागरिक अधिकार र सांसदहरूको विशेष अधिकार हो,” उहाँले भन्नुभयो, “प्रश्न सोध्ने सांसदलाई ‘तपाईँको काण्डको फाइल खोल्छु’ भन्नु संसदीय गरिमामाथिको घोर उपेक्षा हो। संसद् धम्की वा नाराबाजी गर्ने ठाउँ होइन, यो त तर्क, बहस र नीति विमर्शको थलो हो। यसतर्फ हामी सबै गम्भीर बन्नुपर्छ।”

राष्ट्रियता जस्तो गम्भीर र संवेदनशील विषय उठिरहेका बेला प्रधानमन्त्री संसद्‌मा अनुपस्थित रहनु संसद् र जनताप्रतिको उपेक्षा भएको उहाँको भनाइ थियो। प्रधानमन्त्रीले आफ्नो पदीय जिम्मेवारी र दायित्व ‘वारेस’ (परराष्ट्रमन्त्री) मार्फत गराउनु संसद्प्रतिको खेदजनक विषय भएको केसीले बताउनुभयो। “प्रधानमन्त्रीको संसद् अनुपस्थिति र उहाँको मौनता व्यक्तिगत रुचि वा लहडको विषय हुन सक्दैन,” उहाँले जोड दिनुभयो।

देशमा लोकतान्त्रिक शक्ति सन्तुलन र नियन्त्रणका प्रक्रियाहरू एक-एक गर्दै भङ्ग हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले राज्य शक्तिको केन्द्रीकरण गर्ने तथा स्थापित संसदीय अभ्यास र संस्थागत गरिमालाई कुण्ठित पार्ने प्रवृत्तिले मुलुकलाई अस्थिरता र निरंकुशतातर्फ धकेल्ने चेतावनी दिनुभयो।