काठमाडौँमा पहिलोपटक ‘सम्पदा पदयात्रा’, कार्यवाहक मेयर सुनिता डङ्गोल पनि सहभागी
काठमाडौँ, २९ जेठ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनप्रति विद्यार्थीहरूलाई जागरूक बनाउने उद्देश्यले पहिलोपटक ‘सम्पदा पदयात्रा प्रतियोगिता–२०८३’ सम्पन्न भएकाे छ ।
नेपाल स्काउट बागमती प्रदेश अन्तर्गतको स्थानीय स्काउट कार्यालय काठमाडौँको आयोजना तथा काठमाडौँ महानगरपालिका शिक्षा विभागको समन्वय र सहकार्यमा शुक्रबार ‘सम्पदा पदयात्रा प्रतियोगिता–२०८३’ आयोजना गरिएको हो।
वसन्तपुरस्थित कुमारी घर डबलीबाट बिहान सुरु भएको यस सम्पदा पदयात्राको उद्घाटन काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा भएको थियो। नयाँ पुस्तालाई मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरूको महत्त्व बुझाउन र उनीहरूलाई संरक्षणप्रति जिम्मेवार बनाउन यो कार्यक्रम निकै उपयोगी भएकाे कार्यवाहक मेयर डङ्गोले बताउनुभयाे ।
प्रतियोगितामा काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित संस्थागत र सामुदायिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ६०० जना स्काउट छात्र/छात्रा तथा सहयोगी र आयोजक गरी कुल ८३० जनाको सहभागिता रहेको थियो।
स्काउटका प्रमुख आयुक्त रञ्जन लाल श्रेष्ठले नयाँ पुस्ताका विद्यार्थीहरूलाई आफ्नो मौलिक कला र सम्पदा पहिचान गरी तिनको प्रवर्द्धनमा जिम्मेवार बनाउन र काठमाडौँका भित्री गल्ली र चोकहरूमा रहेका ऐतिहासिक सम्पदाहरूसँग साक्षात्कार गराउन कार्यक्रम आयाेजना गरिएकाे बताउनुभयाे ।