सङ्खुवासभा कारागार कैदी हत्या प्रकरण: ७ प्रहरी र ८ कैदीसहित १५ जनालाई जन्मकैदको सजाय
सङ्खुवासभा, २ असार । सङ्खुवासभाको खाँदबारीस्थित जिल्ला कारागारमा दुई जना कैदीको मृत्यु भएको घटनामा संलग्न ७ जना प्रहरी र ८ जना कैदीबन्दी गरी १५ जनालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ। जिल्ला अदालत सङ्खुवासभाका न्यायाधीश राजकुमार कोइरालाको इजलासले सोमबार उक्त फैसला सुनाएको हो।
अदालतका श्रेस्तेदार उज्वल न्यौपानेका अनुसार मुलुकी अपराध संहिता, २०७४ को दफा १७१ (१) बमोजिमको कसुरमा प्रतिवादीहरूलाई जन्मकैदको सजाय सुनाइएको हो। यसका साथै, सोही संहिताको दफा १८६ बमोजिम प्रतिवादीहरूबाट जनही ५० हजार रुपैयाँका दरले मृतक विनोद तोलाङ्गी र आकाश बलामीका नजिकका हकदारलाई क्षतिपूर्ति भराउनेसमेत अदालतले ठहर गरेको छ।
वि.सं. २०८० साउन २४ गते कारागारको शौचालयको झ्यालको फलामे रड काटेर भाग्न खोजेको भन्दै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीमाथि प्रहरी र अन्य कैदीबन्दीहरूले सामूहिक कुटपिट गरेका थिए। नियन्त्रणमा लिई सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा गम्भीर चोट लागेर दुवै कैदीको कारागारभित्रै मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो।
घटनामा संलग्न रहेको अभियोग प्रमाणित भएपछि तत्कालीन कारागार सुरक्षा इञ्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो र सुरक्षा गार्ड नुसन राईलाई जन्मकैद सजायको फैसला भएको छ।
यसैगरी, जन्मकैदको सजाय पाउने कैदीबन्दीहरूमा तत्कालीन कारागारका चौकीदार राम कार्की, बडानाइके अनिश शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरे रहेका छन् ।
यसअघि अदालतको प्रारम्भिक आदेश अनुसार आरोपित सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम कारागारमा पुर्पक्षका लागि थुनामा राखिएको थियो।