देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लू सङ्क्रमण : झण्डै ६ लाख पन्छी नष्ट

काठमाडौँ, असार ९ । नेपालका ११ जिल्लाका ८२ स्थानमा पन्छीहरूमा लाग्ने अतिसङ्क्रामक भाइरल रोग ‘बर्ड फ्लू’ (एभियन इन्फ्लुएन्जा) देखिएको छ । गत चैत ४ गते मोरङबाट सुरु भएको यो सङ्क्रमण हालसम्म विभिन्न जिल्लामा फैलिएको पशु सेवा विभागले जनाएको छ ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हालसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू पुष्टि भएको छ । सङ्क्रमण फैलिएका क्षेत्रमा रोग नियन्त्रणका लागि हालसम्म ५ लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिएको छ । यसैगरी, ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ लाख ९५ हजार ४८५ किलो दाना समेत नष्ट गरिएको विभागको तथ्याङ्क छ ।

कोशी प्रदेशका जिल्लाहरूमा रोग नियन्त्रणमा आएपछि पन्छी ओसारपसारमा लगाइएको प्रतिबन्ध खुकुलो पारिएको डा. दाहालले जानकारी दिनुभयो । झापा, मोरङ, सुनसरीसहित महोत्तरी, बारा, चितवन र नवलपरासीमा पनि सङ्क्रमण नियन्त्रण उन्मुख रहेको छ । यद्यपि, काठमाडौँ उपत्यकाका तीनै जिल्ला र काभ्रेका केही स्थानमा भने अझै बर्ड फ्लूको प्रकोप देखिएको छ ।

सावधानी अपनाउन विभागको आग्रह
बर्ड फ्लूको जोखिम कायमै रहेकाले विभागले विशेषगरी उपत्यकावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । रोग नियन्त्रणका लागि विभागका उपमहानिर्देशकको नेतृत्वमा ‘बर्ड फ्लू रोग नियन्त्रण कक्ष’ स्थापना गरिएको छ । यस कक्षले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ ।

पशु क्वारेन्टाइन कार्यालयहरूले गस्ती परिचालन गरी अवैध रूपमा पैठारी गरिएका शङ्कास्पद पन्छीहरू नष्ट गर्ने कार्यलाई तीव्रता दिएका छन् । विभागले किसानहरूलाई फार्म परिसरमा जैविक सुरक्षा (बायोसेक्युरिटी) का विधिहरू कडाइका साथ पालना गर्न सुझाव दिएको छ ।

किसानका लागि जारी निर्देशन:
१. अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने ।
२. ढुवानीका साधनलाई फार्मभित्र प्रवेश गराउनुअघि अनिवार्य निसङ्क्रमण गर्ने ।
३. जङ्गली पन्छी तथा कागहरूसँग घरपालुवा पन्छी र दानाको संसर्ग हुन नदिने गरी थुनेर पाल्ने ।
४. पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिने ।

सङ्क्रामक रोग भएकाले पन्छीहरूमा शङ्कास्पद लक्षण देखिएमा तुरुन्त नजिकैको पशु सेवा कार्यालयमा जानकारी गराउन समेत विभागले अनुरोध गरेको छ ।