नेप्से परिसूचकमा आजपनि १४.४५ अङ्कको गिरावट, कारोबार रकम बढेर ४ अर्ब ४१ करोड पुग्यो

काठमाडौँ, १० असार । धितोपत्र बजारमा नेप्से परिसूचक बुधबार पनि घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिँदै १४.४५ अङ्कले घटेर २,६६०.०२ विन्दुमा झरेको हाे। परिसूचक घटे पनि यस दिन कारोबार रकममा भने वृद्धि भएको छ।

नेप्सेका अनुसार आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स २.६० अङ्क, फ्लोट इण्डेक्स ०.९८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अङ्कले घटेका छन्। मङ्गलवार ४ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा बुधबार ३३८ कम्पनीका ७२ हजार ९१७ पटकको कारोबारमा ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आजको कारोबारमा पनि दुई जलविद्युत् कम्पनीहरू टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ। यी दुवै कम्पनीको सेयर मूल्य ५९ रुपैयाँ ५० पैसाले बढेर प्रतिइकाइ ४५६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। यस्तै, भुजुङ्ग हाइड्रोपावरको सेयर मूल्य साढे १४ प्रतिशतभन्दा बढी र सिवाईसी नेपाल लघुवित्तको मूल्य करिब १० प्रतिशतले बढेको छ। अर्कातर्फ, यस दिन सोपान फर्मास्युटिकल्सको सेयर मूल्य सबैभन्दा बढी ५.०५ प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा आज पनि आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २९ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। यस्तै, सोपान फर्मास्युटिकल्सको १७ करोड रुपैयाँभन्दा बढी र युनाइटेड मोदी हाइड्रोपावरको करिब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये बुधबार केवल वित्त र व्यापार उपसमूहको परिसूचकमा सामान्य सुधार देखिएको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। घटेका उपसमूहहरूमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी १.१० प्रतिशतले ओरालो लागेको छ।