बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली राष्ट्रहरूको साझा प्रतिबद्धता
काठमाडौँ, ११ असार । श्रीलङ्काको कोलम्बोमा सम्पन्न बालबालिका विरुद्धको हिंसा अन्त्य सम्बन्धी दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनले क्षेत्रीय प्रतिबद्धतालाई थप सुदृढ बनाउने सङ्कल्प पारित गरेको छ। जुन २३ देखि २४ सम्म चलेको दुई दिने सम्मेलनले बालबालिकाको सुरक्षा र अधिकारका लागि सामूहिक कार्ययोजनामा जोड दिएको हो।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), श्रीलङ्का सरकार, युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन (WHO) र संयुक्त राष्ट्रसङ्घको विशेष प्रतिनिधि कार्यालयको संयुक्त आयोजनामा उक्त सम्मेलन सम्पन्न भएको हो। सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशका मन्त्रीहरू, सरकारी अधिकारीहरू, बाल संरक्षण विज्ञ र विकास साझेदारहरूको सहभागिता रहेको थियो।
सम्मेलनलाई सम्बोधन गर्दै श्रीलङ्काका प्रधानमन्त्री डा. हरिनी अमरसुरियाले हरेक बालबालिकालाई डर, हिंसा र शोषणमुक्त वातावरणमा हुर्कने अधिकार रहेको बताउनुभयो। “प्रत्येक बालबालिका सुरक्षित र सम्मानित महसुस गर्ने समाज निर्माण गर्नु हाम्रो साझा जिम्मेवारी हो,” उहाँले भन्नुभयो।
यस्तै, सार्कका महासचिव राजदूत मोहम्मद गोलम सरवारले दिगो विकासका लक्ष्यहरू पूरा गर्न बालबालिकाको सुरक्षालाई मौलिक आधार बनाउनुपर्नेमा जोड दिनुभयो।
बालबालिका विरुद्धको हिंसा सम्बन्धी संयुक्त राष्ट्रसङ्घका महासचिवकी विशेष प्रतिनिधि डा. नजत माल्ला मजिदले हिंसा अन्त्यका लागि बहुसरोकारवाला र सीमापार सहयोग अनिवार्य रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “दक्षिण एसियामा सम्पन्न यो सम्मेलनले बालबालिका विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने हाम्रो वाचा पूरा गर्न एक महत्वपूर्ण खुड्किलोको काम गरेको छ।”
सम्मेलनमा नेपालको तर्फबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव राधिका अर्यालको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको थियो। प्रतिनिधिमण्डलमा श्रीलङ्कास्थित नेपाली दूतावास र युनिसेफ नेपालका प्रतिनिधिहरूको पनि सहभागिता थियो।
नेपालको प्रतिनिधित्व गर्दै सचिव अर्यालले बालबालिका विरुद्ध हुने हिंसा अन्त्यका लागि नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धताहरू पालना गर्न सरकार दृढ रहेको बताउनुभयो। नेपालले बाल संरक्षणका लागि नीतिगत र संरचनात्मक सुधारका कामहरू गरिरहेको जानकारी समेत उहाँले गराउनुभयो।