रित्तिँदै बुकी पाटन : बुढ्यौली काँधमा घुम्ती गोठको विरासत

काठमाडौँ, असार १३ । म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जाका ८० वर्षीय नरबहादुर छन्त्यालको जीवनका ६५ वसन्त हिमालका फेदी र बुकीका पाटनहरूमा घुम्ती गोठ सार्दैमा बिते । १५ वर्षको किशोर उमेरदेखि भैँसीको पुच्छर समातेर लेकबेँसी गर्न थाल्नुभएका उहाँको ऊर्जा र उत्साह अहिले बुढ्यौलीले शिथिल बनेको छ । शरीरले साथ दिन छाडेपछि र स्वास्थ्यमा समस्या देखिन थालेपछि उहाँले आफ्नो जीवनभरको सहयात्री, घुम्ती गोठलाई विश्राम दिने तयारी गर्नुभएको छ ।

‘मेरो बाल्यकालमा गाउँका हरेक घरको गोठ हुन्थ्यो, पाटनमा गोठालाहरूको मेला लाग्थ्यो ।’  नरबहादुर विगत सम्झनुहुन्छ, ‘अहिले त हामी बुढापाकाले छाडेपछि यी गोठ पनि सँगै हराउने अवस्था छ । नयाँ पुस्तालाई न गोठ बस्ने जाँगर छ, न त यो दुःख गर्ने फुर्सद ।’

हिमालको फेदीदेखि बेँसीसम्मको यात्रा
धवलागिरि गाउँपालिकाका किसानहरूका लागि घुम्ती गोठ केवल पशुपालन मात्र होइन, यो एउटा जीवनपद्धति हो । जेठको सुरुवातसँगै बेँसीबाट उकालो लाग्ने यी गोठहरू साउनको मध्यतिर ५ हजार मिटर उचाइमा रहेका बुकी पाटनसम्म पुग्छन् । धवलागिरि ५ बगरका कृषक किर्तबहादुर घर्तीमगरका अनुसार, बर्खाको समयमा हिमालको काखमा पाइने पोषिलो घाँस खुवाउन पशुहरूलाई लेक पुर्‍याइन्छ र असोज लागेपछि चिसो छल्न पुनः बेँसी झारिन्छ ।

‘बर्खेबाली लगाएपछि हप्तादश दिनको अन्तरमा गोठ सार्दै हिमालतिर जान्छौँ ।’ घर्तीमगर भन्नुहुन्छ, ‘तर अहिले ती पाटन र खर्कहरू सुनसान हुन थालेका छन् ।’

युवा पलायन र संकटमा परम्परा
दुई दशक अघिसम्म धवलागिरिका पाखापखेरामा गोठालाहरूको सुसेल र वस्तुभाउको आवाजले गुञ्जायमान हुने बुकीहरू अहिले मौन छन् । गाउँ कार्यपालिकाका प्रवक्ता देवेन्द्र रोकाका अनुसार, व्यावसायिकताको अभाव र वैदेशिक रोजगारीको आकर्षणले गर्दा यो पुख्र्यौली पेशा संकटमा परेको हो ।

‘अहिले गोठमा युवायुवती भेटिन छाडेका छन् ।’ वडा नम्बर ३ का अध्यक्षसमेत रहनुभएका रोका भन्नुहुन्छ, “युवाहरू पासपोर्ट बोकेर विदेशतिर लागे, गाउँका गोठहरू बुढापाकाको काँधमा मात्रै टिकेका छन् ।”

मुनाका किसान हर्कबहादुर रोकाको अनुभवमा पनि नयाँ पुस्तालाई खेतीपाती, घाँसदाउरा र गोठधन्दामा रुचि छैन । ‘गोठमा बस्नु भनेको दुःखको धन कमाउनु हो । खेतीका लागि मल र पुर्खाको चलन धान्न मात्रै हामीले यो काम गरिरहेका छौँ ।’ उहाँ भन्नुहुन्छ ।

लोप हुँदै रैथाने नश्ल
घुम्ती गोठको परम्परा हराउँदै जाँदा नेपालका रैथाने पशुका प्रजातिहरू पनि संकटमा परेका छन् । यस क्षेत्रमा पालिने लिमे र पारकोटे जातका भैँसीहरू घुम्ती गोठसँगै लोप हुने खतरा बढेको छ । पशु सेवा शाखाको तथ्याङ्कले पनि पशुको सङ्ख्यामा आएको उतारचढावलाई पुष्टि गर्छ ।

वि.सं. २०७४ को सर्वेक्षण अनुसार धवलागिरिमा ६ हजार ७५६ गाईगोरु र २ हजार ३८३ भैँसी रहेका थिए । हाल भैँसीको सङ्ख्यामा केही वृद्धि (२,८४७) देखिए पनि गाईको सङ्ख्या घटेर ४ हजार ४११ मा खुम्चिएको पशु सेवा शाखा प्रमुख चन्द्रकला दाहाल बताउनुहुन्छ ।

उपसंहार
पहाडी जनजीवनको अभिन्न अङ्ग मानिने घुम्ती गोठ अहिले सङ्क्रमणकालीन अवस्थामा छ । एकातिर जिविकोपार्जनको बाध्यता छ भने अर्कोतिर आधुनिक सुखसुविधाको खोजीमा शहर र विदेश पलायन हुने युवा लहर । यदि पशुपालनलाई व्यावसायिक र सम्मानित पेशाका रूपमा विकास गर्न सकिएन भने, नरबहादुर छन्त्यालजस्ता पाका पुस्ताको बहिर्गमनसँगै हिमालका फेदीमा देखिने यी घुम्ती गोठहरू इतिहासको पानामा मात्र सीमित हुनेछन् ।