लुम्बिनी प्रदेशमा धान रोपाइँले लियो गति : २०.५ प्रतिशत क्षेत्रफलमा रोपाँइ सम्पन्न

काठमाडौँ, असार १५ । लुम्बिनी प्रदेशमा ढिलो गरी मनसुन सक्रिय भएपछि धान रोपाइँले तीव्रता पाएको छ । केही साताअघिसम्म पर्याप्त वर्षा नहुँदा प्रभावित बनेको रोपाइँ पछिल्ला दिनहरूमा निरन्तर वर्षा भएपछि उत्साहजनक रूपमा अघि बढेको हो ।

प्रदेश सरकारले कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा र कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै किसानहरूलाई आधुनिक प्रविधि अवलम्बन गर्न आग्रह गरेको छ । लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ कृषि अर्थविज्ञ हरिप्रसाद पण्डितका अनुसार मनसुनको सुरुवाती चरणमा ढिलाइ भए पनि हाल अधिकांश जिल्लाका किसान खेतबारीमा व्यस्त रहेका छन् । आगामी केही दिन मौसम अनुकूल रहेमा रोपाइँको दर अझ बढ्ने उहाँको विश्वास छ ।

मन्त्रालयले सार्वजनिक गरेको असार १४ गतेसम्मको तथ्याङ्कअनुसार प्रदेशको कुल धान खेती हुने क्षेत्रफलको २०.५ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ । प्रदेशभर कुल ३ लाख ९ हजार ३७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा हालसम्म ६३ हजार ६७०.८७ हेक्टरमा रोपाइँ सकिएको छ ।

जिल्लागत विवरण

  • प्युठान : ८४ प्रतिशत (सबैभन्दा बढी)

  • पश्चिम नवलपरासी : ५० प्रतिशत

  • रूपन्देही : ४३ प्रतिशत

  • रोल्पा : ४० प्रतिशत

  • कपिलवस्तु : १.५ प्रतिशत

  • बाँके : ०.५ प्रतिशत (सबैभन्दा कम)

बाँके र कपिलवस्तु जस्ता जिल्लाहरूमा रोपाइँको प्रतिशत न्यून देखिए तापनि वर्षा सुचारु भएसँगै ती क्षेत्रमा पनि कार्य तीव्र हुने अपेक्षा गरिएको छ ।

कृषि अधिकृत मञ्जु पाण्डेयका अनुसार लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान ३०.१ प्रतिशत रहेको छ । प्रदेशका अधिकांश नागरिकको जीविकोपार्जन कृषिमै निर्भर रहे तापनि सिँचाइको अभाव र परम्परागत प्रणाली मुख्य चुनौतीका रूपमा रहेका छन् ।

तथ्याङ्कअनुसार प्रदेशको कुल कृषियोग्य जमिनमध्ये ५६.७ प्रतिशत क्षेत्रमा मात्र वर्षभरि सिँचाइ सुविधा पुगेको छ । बाँकी ४३.३ प्रतिशत जमिन अझै पनि आकाशे पानीमा निर्भर रहनुपर्ने बाध्यता छ, जसका कारण मनसुनमा हुने फेरबदलले उत्पादनमा प्रत्यक्ष असर पार्ने गरेको छ ।

प्रदेश सरकारले कृषिको उत्पादकत्व बढाउन कृषि आधुनिकीकरण, यान्त्रीकरण, उन्नत बीउबिजन वितरण, कृषि बीमा, र सिँचाइ विस्तार जस्ता कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ । कृषि विज्ञहरूले आगामी साताहरूमा मनसुन सक्रिय रहेमा यस वर्ष धान उत्पादनमा उल्लेखनीय वृद्धि हुने प्रक्षेपण गरेका छन् ।