खेर जाने थाकल र अम्रिसोबाट आत्मनिर्भरता: वन उद्यममा जम्दै नवलपुरका महिला

 

नवलपुर (एजेन्सी) ।  कुनै समय वनमा त्यसै कुहिएर जाने थाकलका पात र अम्रिसोका बुटाहरू अहिले नवलपुरका महिलाका लागि ‘हरियो सुन’ सावित भएका छन् । जिल्लाको देवचुली नगरपालिकास्थित नमूना महिला सामुदायिक वनमा आबद्ध महिलाहरूले वन पैदावारको सदुपयोग गर्दै हस्तकलाका माध्यमबाट गाउँमै रोजगारी सिर्जना मात्र गरेका छैनन्, आर्थिक आत्मनिर्भरतातर्फ दरिलो पाइला पनि चालेका छन् ।

थाकलदेखि झोला र टोपीसम्म
हिजोका दिनमा वनमा घास-दाउरा गर्दा वास्ता नगरिने थाकल अहिले यहाँका महिलाहरूको आम्दानीको मुख्य स्रोत बनेको छ । महिलाहरूले थाकलको पातलाई प्रशोधन गरेर आकर्षक झोला, टेबल म्याट, टिम्याट, टोपी, गमला र सजावटका सामग्रीहरू तयार पार्ने गरेका छन् ।

नमूना हस्तकला सामान उत्पादन महिला समूहकी अध्यक्ष कोपिला रायमाझीका अनुसार, सामान्य तालिमबाट सुरु भएको यो यात्रा अहिले व्यावसायिक उद्यममा परिणत भएको छ । “सुरुमा हामीले झोला मात्र बुन्न सिकेका थियौँ, तर अहिले मागअनुसार विभिन्न आकर्षक सामग्रीहरू बनाउन सक्ने भएका छौँ,” उनी भन्छिन् । हाल यो समूहमा २० जना महिलाहरू सक्रिय रूपमा आबद्ध छन्, जसले घरको काम भ्याएर फुर्सदको समयमा हस्तकलाका सामग्री बुन्ने गर्छन् ।

अम्रिसोले दिलाएको आत्मविश्वास
थाकलका अतिरिक्त यस समूहले अम्रिसोबाट कुचो बनाउने कामलाई पनि तीव्रता दिएको छ । आफ्नै वनमा पर्याप्त अम्रिसो नहुँदा अन्य सामुदायिक वनबाट समेत कच्चा पदार्थ ल्याएर कुचो उत्पादन गरिरहेको सामुदायिक वनकी अध्यक्ष रिलकुमारी तामाङले जानकारी दिइन् ।

उद्यममा आबद्ध खगिसरा लुङ्गेली आफ्नो अनुभव सुनाउँदै भन्छिन्, “घरधन्दा सकेर बसेको समयलाई सदुपयोग गर्दा अहिले आफ्नो व्यक्तिगत खर्चका लागि कसैको मुख ताक्नु पर्दैन । परिवारको आर्थिक गर्जो टार्न पनि सहयोग पुगेको छ ।” हालै मात्र तालिम लिएकी कुमारी श्रेष्ठ पनि अरू दिदीबहिनीहरू आत्मनिर्भर भएको देखेर आफूमा पनि केही गर्ने जोस पलाएको बताउँछिन् ।

स्थानीय बजारदेखि काठमाडौँसम्मको पहुँच
महिलाहरूले उत्पादन गरेका यी सामग्रीहरूको बजार पनि लोभलाग्दो छ । विशेषगरी होमस्टे (घरबास), पर्यटकीय क्षेत्र र काठमाडौँका ठूला पसलहरूबाट यी हस्तकला सामग्रीको उच्च माग हुने गरेको छ । “अहिले हामीलाई बजार खोज्दै हिँड्नुपर्ने अवस्था छैन, ग्राहक र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू आफैँ सामान खोज्दै आउनुहुन्छ,” अध्यक्ष रायमाझीले भनिन् । हालै मात्र काठमाडौँबाट एकैपटक एक सय थान हस्तकला सामग्रीको अर्डर आएको छ, जसले उद्यमी महिलाहरूलाई थप उत्साहित बनाएको छ ।

सरकारी प्रोत्साहन र भविष्यको योजना
उद्यमलाई थप व्यवस्थित बनाउन समूह दर्ता गरेर संस्थागत रूपमै काम अघि बढाइएको छ । डिभिजन वन कार्यालय नवलपुरले पनि यी महिलाहरूको प्रयासलाई सहयोग गर्दै आएको छ । कार्यालयका सूचना अधिकारी सुवास अधिकारीका अनुसार वन पैदावारको दिगो उपयोगले वातावरण संरक्षणमा मात्र नभई ग्रामीण महिलाको सशक्तीकरणमा समेत ठूलो टेवा पुगेको छ ।

डिभिजन वन कार्यालयले हालै थप २० जना महिलालाई यस्तै तालिम प्रदान गरेको छ, जसले गर्दा आगामी दिनमा उत्पादन र रोजगारीको क्षेत्र अझै विस्तार हुने देखिन्छ । वनको स्रोत र महिलाको सीपको यो संगमले नवलपुरमा मात्र नभई देशभरकै अन्य समुदायका लागि पनि उदाहरणीय सन्देश दिएको छ— ‘मेहनत गरे आफ्नै आँगन र वनपाखामा लक्ष्मीको बास हुनेछ ।’