सेयर बजारमा गिरावटलाई निरन्तरता : नेप्से ४.६४ अङ्कले घट्दा कारोबार रकम पनि खुम्चियो
काठमाडौँ, १३ साउन । साताको दोस्रो कारोबार दिन मङ्गलबार पनि धितोपत्र बजारमा सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक ओरालो लागेको छ । अघिल्लो दिन सोमबार ३३ अङ्कभन्दा बढीले घटेको बजारले आज पनि सोही लयलाई निरन्तरता दिँदै सामान्य अङ्कको गिरावट दर्ता गरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ४ दशमलव ६४ अङ्कले घटेर २ हजार ६ सय ९६ दशमलव ६७ विन्दुमा झरेको छ । यस्तै, ठुला कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ७० अङ्कले ओरालो लागेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । सोमबार ६ अर्ब ८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज ३४२ कम्पनीको ५५ हजार ५८० पटकको कारोबारमा ४ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बराबरको १ करोड ४ लाख २१ हजार कित्ता सेयर किनबेच भएको छ ।
बजार घटे पनि हालै सूचीकृत भएको एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा आज पनि १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ३० पैसाले बढेर ८६१ रुपैयाँ पुगेको छ । यस्तै, लक्ष्मी उन्नति कोषको इकाई मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यता, कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा भने सबैभन्दा धेरै ६ दशमलव शून्य ७ प्रतिशतको गिरावट देखिएको छ ।
रकमका आधारमा आज सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको २७ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, रिडी पावर कम्पनीको २१ करोड र सोलु हाइड्रोपावरको १९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
आज कारोबार भएका १३ उपसमूहमध्ये वित्त, होटल तथा पर्यटन, जलविद्युत् र व्यापार उपसमूहको परिसूचकमा सामान्य सुधार देखिएको छ भने बैङ्किङ, बिमा र लघुवित्तसहित बाँकी ९ वटा उपसमूहको परिसूचक घटेको छ ।