नेपाली स्वाद अब विश्वबजारमा : भारतको गुरुग्राममा ‘जिम्बु थकाली’को पहिलो अन्तर्राष्ट्रिय शाखा खुल्दै
काठमाडौँ, साउन १२ । नेपाली रैथाने स्वाद र थकाली खानाका लागि चर्चित रेस्टुरेन्ट ब्रान्ड ‘जिम्बु थकाली’ले आफ्नो सेवालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरेको छ । कम्पनीले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो वैदेशिक शाखा सञ्चालनमा ल्याउन लागेको हो ।
गुरुग्रामको प्रमुख व्यावसायिक तथा मनोरञ्जन केन्द्रका रूपमा चिनिने सेक्टर ६५ स्थित व्यावसायिक परिसरमा यही साउन १५ गतेदेखि उक्त नयाँ शाखा औपचारिक रूपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।
जिम्बु थकालीका संस्थापक विवेकमान शेरचनका अनुसार भारतमा शाखा विस्तार गर्नुको मुख्य उद्देश्य व्यवसाय वृद्धिसँगै नेपाली खाना, संस्कृति र नेपाली आतिथ्यलाई विश्वस्तरमा प्रवद्र्धन गर्नु हो । “हामीले भारतीय तथा त्यहाँ रहेका अन्य मुलुकका ग्राहकलाई प्रामाणिक थकाली स्वादसँगै नेपालको हिमाली जीवनशैली र संस्कृतिको अनुभूति गराउने लक्ष्य राखेका छौँ,” उहाँले भन्नुभयो ।
नेपालबाटै लगिनेछन् रैथाने मसला
खानाको मौलिक स्वादलाई कायम राख्न जिम्बु थकालीले आवश्यक पर्ने मुख्य रैथाने सामग्रीहरू जस्तै– जिम्बु र टिमुर नेपालबाटै आपूर्ति गर्ने जनाएको छ । रेस्टुरेन्टको मेनुमा थकाली सेट, ढिँडो, फापरका परिकार, गुन्द्रुक, सुकुटी तथा सेकुवा समावेश गरिएका छन् । यसका साथै चटामरी, बारा, मःमः, गुन्द्रुकको झोल, जुजु धौ र खुवा यमरी जस्ता विविध नेपाली परिकारको स्वाद समेत ग्राहकले लिन पाउनेछन् ।
नेपाली वास्तुकलाको झल्को
रेस्टुरेन्टको आन्तरिक सजावटमा नेपाली मौलिकतालाई विशेष प्राथमिकता दिइएको छ । नेपाली काष्ठकला, बुट्टेदार झ्याल, कलात्मक स्तम्भ र थकाली संस्कृति झल्किने सामग्रीहरूको प्रयोगले ग्राहकलाई नेपालमै रहेको आभास दिलाउने कम्पनीको विश्वास छ । ९० जनाको क्षमता रहेको यस रेस्टुरेन्ट परिसरमै नेपाली कफी ब्रान्ड ‘हिमालयन जाभा’को शाखा पनि रहनेछ ।
ब्रान्डको ऐतिहासिक यात्रा
सन् २०१६ मा स्थापना भएको जिम्बु थकालीका हाल नेपालमा कालीमाटी, नयाँ बानेश्वर, झम्सिखेल र टङ्गाल गरी चारवटा शाखाहरू सञ्चालित छन् । हालसम्म २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकेको यस कम्पनीले नेपाली थकाली खानालाई विश्वव्यापी रूपमा एक प्रतिष्ठित रेस्टुरेन्ट ब्रान्डका रूपमा स्थापित गर्ने दीर्घकालीन योजना अघि सारेको छ ।