होर्मुज जलसन्धिको सुरक्षाका लागि इरान, ओमान र साउदी अरबबीच सहकार्यको प्रस्ताव
एजेन्सी, १२ साउन । इरान, ओमान र साउदी अरबले रणनीतिक महत्त्वको होर्मुज जलसन्धिको सुरक्षा सुनिश्चित गर्न संयुक्त कूटनीतिक प्रयासलाई तीव्र बनाउन आह्वान गरेका छन् । इरानी विदेश मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार यस क्षेत्रमा बढ्दो तनावका बीच यी तीन राष्ट्रले सहकार्यका लागि सक्रियता देखाएका हुन् ।
इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले आफ्ना ओमानी समकक्षी सैयद बद्र बिन हमद अल बुसाइदी र साउदी विदेश मन्त्री राजकुमार फैसल बिन फरहान अल सौदसँग छुट्टा–छुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो । मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार वार्ताका क्रममा मन्त्रीहरूले क्षेत्रीय स्थिरता कायम राख्न र समुद्री सुरक्षामा देखिएका चुनौतीहरू समाधान गर्न आपसी सहयोग बढाउनुपर्नेमा जोड दिएका छन् ।
पछिल्लो समय यस क्षेत्रमा अमेरिकी सैन्य गतिविधि र आक्रमणका कारण सुरक्षा जोखिम बढेको भन्दै मन्त्रीहरूले कूटनीतिक प्रयासका माध्यमबाट उक्त असुरक्षा हटाउनु पर्ने बताएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईका अनुसार इरान र ओमानबीच शुक्रबार र शनिबार तेहरानमा भएको उच्चस्तरीय वार्तामा होर्मुज जलसन्धि भएर हुने सुरक्षित आवागमनका विषयमा विस्तृत छलफल भएको थियो । दुवै पक्षले तटीय राज्यहरूको सार्वभौम अधिकारको सम्मान गर्दै समुद्री ट्राफिक व्यवस्थापनका लागि आवश्यक संयन्त्र र सिद्धान्तहरू बनाउने विषयमा विचार आदान–प्रदान गरेका छन् ।
अमेरिकी सेनाले इरान विरुद्ध शृङ्खलाबद्ध आक्रमण गरेपछि तेहरानले पनि यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार र सुविधाहरूमा मिसाइल तथा ड्रोन प्रहार गरी जवाफी कारबाही गर्दै आएको छ । विश्वको कुल तेल आपूर्तिको ठुलो हिस्सा यही जलसन्धि भएर जाने भएकाले यसको सुरक्षालाई लिएर विश्व समुदायले गम्भीर चासो व्यक्त गर्दै आएको छ ।