संविधान संशोधन कार्यदलबाट एमालेले फिर्ता बोलायो प्रतिनिधि
काठमाडौँ, २५ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको छ। कार्यदलको कार्यशैली र दिशाप्रति असन्तुष्टि जनाउँदै एमालेले आफ्ना प्रतिनिधि डा. भीम अधिकारीलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
एमालेका महासचिव शङ्कर पोखरेलले कार्यदलका संयोजकलाई औपचारिक पत्र लेख्दै प्रारम्भिक चरणमा डा. अधिकारी सहभागी भए पनि कार्यदलको कामकारबाही चित्तबुझ्दो नभएकाले उनलाई फिर्ता बोलाइएको जानकारी दिएका छन्।
महासचिव पोखरेलद्वारा प्रेषित पत्रमा कार्यदलको सुरुदेखिकै गतिविधि सन्देहास्पद रहेको, संशोधन गरिने विषयहरू स्पष्ट रूपमा किटान नगरिएको र वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण स्पष्ट नभएको आरोप लगाइएको छ। साथै, कार्यदलमा छलफलका लागि ल्याइएका केही विषयहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत देखिएको ठहर एमालेले गरेको छ।
एमालेले यी नीतिगत विषयमा सरकारसँग स्पष्ट धारणा माग गरे पनि हालसम्म कुनै आधिकारिक जवाफ प्राप्त नभएको जनाएको छ। वर्तमान संविधानका आधारभूत विशेषतालाई थप सुदृढ बनाउने र कार्यान्वयनका क्रममा देखा परेका व्यावहारिक कमजोरीहरू सुधार्ने उद्देश्यका लागि मात्र संविधान संशोधन हुनुपर्ने एमालेको अडान छ।
सरकारले आफ्ना सरोकारहरूलाई सम्बोधन नगरेको र संशोधनको स्पष्ट मार्गचित्र नल्याएकाले कार्यदलमा सहभागी भइरहनुको औचित्य नरहेको भन्दै एमालेले औपचारिक रूपमा बाहिरिने निर्णय गरेको हो।