गणेशको आत्मदाह प्रयास: ठूलो मानसिक तनावका कारण कठोर निर्णय लिएको आशंका
काठमाडाैं, २६ असार । सरकारले चिकित्सकहरूको सुझाव अनुसार आत्मदाह प्रयास गरेका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ।
उनको उपचारमा संलग्न चिकित्सकहरूले सुरूमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो। उनलाई भारत लैजान एयर एम्बुलेन्सको पनि व्यवस्था पनि गरेको थियो। तर वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेका कारण स्थगित गरिएकाे हाे ।
चिकित्सकहरूले स्थानान्तरण गर्दा झन् ज्यानको जोखिम हुने सुझाव दिएपछि सरकारले उनलाई तत्काल भारत नलैजाने जनाएको छ।
चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएको छ भने विरामीकाे वीर अस्पतालको आइसियूमा उपचाररत भइरहेकाे छ । वीर अस्पतालका सूचना अधिकारी ताराबहादुर कुँवरका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर छ।
२५ वर्षीय नेपालीले बिहीबार राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका थिए। नेपालीकाे ६५ प्रतिशत शरीरको भाग जलिसकेको छ ।
उनको आत्मदाह प्रयासको मुख्य कारण अहिले गम्भीर चासो र चर्चाको विषय बनेको छ। कुन परिस्थिति वा मानसिक दबाबले उनलाई यस्तो कठोर कदम चाल्न बाध्य तुल्यायो भन्नेबारे ठोस तथ्य बाहिर आइसकेको छैन। यद्यपि, उनले ठूलै मानसिक तनावका कारण यो निर्णय लिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यसबारे यथार्थ विवरण भने प्रहरी अनुसन्धानपछि मात्र खुल्ने देखिएको छ।