काठमाडौँ महानगरका संस्थापक प्रमुख पीएल सिंहको प्रतिमा अनावरण
काठमाडौँ, असार २७ । काठमाडौँ महानगरपालिका वडा नं. १८ ले महानगरपालिकाका संस्थापक प्रमुख एवं प्रजातन्त्रवादी नेता स्वर्गीय प्रेमलाल सिंह (पीएल सिंह) को प्रतिमा स्थापना गरेको छ । तपिंताँ पार्कमा निर्माण गरिएको उक्त धातुको प्रतिमाको आज एक विशेष समारोहका बिच महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अनावरण गर्नुभयो ।
करिब ९ लाख ३८ हजार रुपैयाँको लागतमा मूर्तिकार श्याम तुलाधरले तयार पार्नुभएको सो प्रतिमा अनावरण कार्यक्रममा स्वर्गीय सिंहको स्मृतिमा एक मिनेट मौन धारण गरिनुका साथै पुष्पगुच्छा अर्पण गरिएको थियो ।
प्रतिमा अनावरण गर्दै कार्यवाहक प्रमुख डङ्गोलले इतिहासको संरक्षण र पुस्तान्तरण गर्ने वडाको कार्यको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “स्वर्गीय सिंहले नागरिकलाई आफ्नो ठानेर सेवाको जुन संस्कार बसाउनुभयो, त्यसले महानगर र नागरिकलाई सदैव जोड्नेछ । उहाँका योजनाहरूलाई आधार मानेर आज पनि हामी काम गरिरहेका छौँ । उहाँ केवल एक मार्गदर्शक मात्र नभई नागरिक र सरकार जोड्ने सम्बन्ध सेतु पनि हुनुहुन्छ ।”
कार्यक्रममा वडा नं. १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले सिंहलाई वडाको पहिचान र गौरवका रूपमा चित्रण गर्नुभयो । उहाँले भन्नुभयो, “स्वच्छ, सफा र हराभरा काठमाडौँको जुन अभियान उहाँले थालनी गर्नुभएको थियो, त्यसलाई हामीले अहिले पनि कार्यान्वयन गरिरहेका छौँ । प्रजातन्त्रका लागि उहाँले गर्नुभएको व्यक्तिगत र पारिवारिक त्याग अतुलनीय छ ।”
त्यस्तै, वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारले २०३५ सालको मजदुर आन्दोलनका क्रममा सिंहसँग भएको भेटको स्मरण गर्दै उहाँलाई सहर निर्माणको स्पष्ट दृष्टि भएको असाधारण व्यक्तिको रूपमा स्मरण गर्नुभयो । स्वर्गीय सिंहका भतिज डा. जेनिथ लाल सिंहले उहाँको निस्वार्थ सेवाभाव र व्यक्तित्वलाई पछ्याउनु नै उहाँप्रतिको सच्चा सम्मान हुने बताउनुभयो ।
इतिहास संरक्षणमा वडा नं. १८ को सक्रियता
वडा नं. १८ ले वडाको पहिचान अभिवृद्धिमा योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मान गर्ने क्रमलाई तीव्रता दिएको छ । यसअघि पुष्पलाल पार्कमा मनमोहन अधिकारी, मदन भण्डारी, पुष्पलाल श्रेष्ठ, पद्मरत्न तुलाधर र शंखधर साख्वाको प्रतिमा स्थापना गरिसकिएको छ । त्यस्तै, किलागलमा नारायण गोपाल, तुन्छे गल्लीमा चित्तधर हृदय र वडा कार्यालयमा चन्द्रानन्द नेवाको प्रतिमा स्थापना गरिएको छ ।
संक्षिप्त जीवनी
वि. सं. १९९६ चैत ११ गते ताम्सिपाखामा जन्मनुभएका प्रेमलाल सिंह २०४९ सालको स्थानीय निर्वाचनबाट काठमाडौँ नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँकै कार्यकालमा २०५२ साल मंसिर २९ गते काठमाडौँलाई महानगरपालिका घोषणा गरिएको थियो, जसका कारण उहाँ महानगरको संस्थापक प्रमुख बन्नुभयो । स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएका सिंहको २०८१ साल पुस १ गते निधन भएको थियो ।