रामधुनी सबडिभिजन वन कार्यालयद्वारा वार्षिक ३५ हजार बिरुवा निःशुल्क वितरण : सीमापारसम्म पुग्दै नर्सरीका बिरुवा
काठमाडौँ, असार २८ । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले वन प्रवर्द्धन र वातावरणीय संरक्षणका लागि उल्लेखनीय कार्य गर्दै आएको छ । कार्यालयले आफ्नै नर्सरीमार्फत वार्षिक ३५ हजारभन्दा बढी विभिन्न प्रजातिका वनजन्य, नगदे तथा बहुवर्षीय बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको हो ।
वि.सं. २०७९ देखि व्यवस्थित रूपमा सञ्चालनमा ल्याइएको यस नर्सरीमा उत्पादित बिरुवाको माग बर्सेनि बढ्दो क्रममा रहेको छ । कार्यालयका अनुसार नर्सरीमा खयर, ज्याकाराण्डा, बेल, सिसौ, अमला, अर्जुन, कागती, तेजपत्ता र अम्बक जस्ता विभिन्न प्रजातिका बिरुवाहरू उपलब्ध छन् । तीमध्ये केही यसै वर्ष उत्पादन गरिएका हुन् भने केही बहुवर्षीय बिरुवाहरू अघिल्ला वर्षदेखि नै संरक्षण गरेर राखिएका छन् ।
धार्मिक पर्यटकको आकर्षण र बजार विस्तार
रामधुनी मन्दिरको सामीप्यमा कार्यालय रहेकाले यहाँ दर्शनका लागि आउने भक्तजनहरूले समेत बिरुवा लैजाने गरेका छन् । वन सहायक काजी आचार्यका अनुसार नेपालका विभिन्न जिल्लाका साथै भारतबाट आउने धार्मिक पर्यटकहरूले समेत यहाँका बिरुवा लैजाने गरेकाले यहाँको उत्पादन सीमापारिसम्म पुग्ने गरेको छ । असार, साउन र भदौ महिना बिरुवा रोपणका लागि उपयुक्त हुने भएकाले यो सिजनमा माग अत्यधिक हुने गरेको उहाँले जानकारी दिनुभयो ।
वितरण प्रक्रिया र प्रावधान
उत्पादित बिरुवा सर्वसाधारण, सामुदायिक वन र विभिन्न संघसंस्थाहरूलाई आवश्यकताअनुसार वितरण गरिन्छ । कार्यालयले वितरण प्रक्रियालाई व्यवस्थित बनाउन केही नियमहरू समेत तय गरेको छ ।
सामान्यतया दुई-चारवटा बिरुवा लैजान कुनै कागजात आवश्यक पर्दैन ।
संस्थागत रूपमा बिरुवा माग गर्दा सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ ।
५० वटाभन्दा बढी बिरुवा लैजान चाहने व्यक्तिले निवेदन, नागरिकताको प्रतिलिपि र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था छ ।
नर्सरी व्यवस्थापन र उत्तरदायित्व
बिरुवा उत्पादनका लागि फागुन महिनादेखि नै बीउ राखेर काम सुरु गरिन्छ, जसको वितरण असारदेखि प्रारम्भ हुन्छ । नर्सरी व्यवस्थापनका लागि छुट्टै कर्मचारी खटाइएको छ । बिरुवाको सुरक्षा र संवेदनशीलतालाई मध्यनजर गर्दै बिरुवा नष्ट भएमा सम्बन्धित कर्मचारीले नै आर्थिक उत्तरदायित्व व्यहोर्नुपर्ने कडा नियम बनाइएको छ, जसले गर्दा नर्सरी व्यवस्थापन प्रभावकारी बनेको सहायक आचार्यले बताउनुभयो ।
अन्य वन गतिविधि
बिरुवा उत्पादन र वितरणका अतिरिक्त सबडिभिजन वन कार्यालयले सामुदायिक वनहरूलाई प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । राष्ट्रिय वन क्षेत्रमा नियमित गस्ती, वन क्षेत्रमा छपान तथा कटान कार्यमा सहजीकरण र वृक्षरोपण जस्ता कार्यमा पनि कार्यालय सक्रिय छ । हालै मात्र सिंहवाहिनी सामुदायिक वनमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।