गोरखामा रासायनिक मलको हाहाकार: धान रोप्ने मुख्य समयमा मागको एकतिहाइ मात्रै आपूर्ति

गोरखा, २८ असार । धान रोपाइँको मुख्य समय भइसक्दा पनि गोरखा जिल्लामा रासायनिक मलको चरम अभाव देखिएको छ। जिल्लाभर आवश्यक पर्ने मलको तुलनामा हालसम्म झन्डै एकतिहाइ मात्रै आपूर्ति भएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ।

कार्यालयका अनुसार जिल्लामा यस सिजनका लागि कुल ३ हजार ५०० मेट्रिक टन रासायनिक मल आवश्यक पर्नेमा हालसम्म १ हजार १०० मेट्रिक टन मात्र प्राप्त भएको छ। कार्यालय प्रमुख कुलप्रसाद तिवारीले प्राप्त भएको सीमित मललाई कोटा निर्धारण गरी स्थानीय तहहरूलाई उपलब्ध गराइएको जानकारी दिए। स्थानीय तहले कृषि समूह र सहकारीमार्फत किसानहरूलाई मल वितरण गरिरहेका छन्। तर, कतिपय सहकारीले आफ्ना सदस्यलाई मात्र मल बाँडेको र सर्वसाधारण किसान वञ्चित भएको गुनासो आएको उनले बताए।

पर्याप्त मल नपाउँदा किसानहरू निकै मर्कामा परेका छन्। गोरखा नगरपालिका–१० छेपेटारका किसान विष्णु पाठकले तीन घण्टासम्म लाइनमा बस्दा पनि जम्मा ५ किलो मात्र मल पाएको गुनासो गरे। महादेवटारी सहकारी संस्थाकी अध्यक्ष शेल्चा तामाङका अनुसार छेपेटार टोलका करिब १५० किसान परिवारलाई दामासाहीका आधारमा ५–५ किलोका दरले मल वितरण गरिएको छ। “हाम्रो क्षेत्रमा कम्तीमा १०० बोरा मल आवश्यक थियो, तर जम्मा १५ बोरा मात्र प्राप्त भयो। जति आएको थियो, सबैलाई बराबर बाँडेका छौँ,” उनले भनिन्।

यस्तै, पालुङ्टार नगरपालिका–१० मा धान रोपाइँ सुरु भएको दुई साता बितिसक्दा पनि अधिकांश किसानले मल पाउन सकेका छैनन्। वडा अध्यक्ष रिखीराज धौरालीका अनुसार वडाभर करिब ५०० किसान परिवार रहे पनि जम्मा ३२ बोरा मात्र मल प्राप्त भएको छ। प्राप्त मल दुईवटा सहकारीलाई १६–१६ बोराका दरले बाँडेर वितरण गरिएको उनले जानकारी दिए।

वडा अध्यक्ष धौरालीका अनुसार यस वर्ष चैत महिनामा लगाइएको चैते धान मरुवा (ब्लास्ट) रोगका कारण नष्ट भएको थियो। चैते धान गुमाएर समस्यामा परेका किसानहरू अहिले वर्षे धानको मुख्य सिजनमा पनि मल नपाएर थप मारमा परेका छन्। कृषि कार्यालयले भने मलको आपूर्ति बढाउन सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको जनाएको छ।