चितवनमा १७ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा होटल व्यवसायी पक्राउ
चितवन, २८ असार । चितवनको खैरहनी नगरपालिकामा एक होटल व्यवसायी बालबालिकासम्बन्धी कसुरको अभियोगमा पक्राउ परेका छन्। आफ्नै होटलमा कार्यरत १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभन देखाई यौनजन्य हिंसा र सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा खैरहनी नगरपालिका–१० का ३५ वर्षीय विकासकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, श्रेष्ठले सञ्चालन गरेको ‘नमस्ते मिलिजुली खाजा घर’ मा काम गर्ने नाबालिकालाई उनले लामो समयदेखि दुर्व्यवहार गर्दै आएका थिए। प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्र भुसन यादवले दिएको जानकारी अनुसार अभियुक्तले पीडित किशोरीलाई ५० हजार रुपैयाँ दिने प्रलोभन देखाई शारीरिक सम्बन्धका लागि दबाब दिने गरेका थिए।
अनुसन्धानका क्रममा श्रेष्ठले किशोरीको संवेदनशील अङ्गहरूमा छुने मात्र नभई डिजिटल माध्यमबाट समेत मानसिक सास्ती दिने गरेको खुलेको छ। उनले ह्वाट्सएप र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्रयोग गरी आपत्तिजनक सन्देश र भिडियोहरू पठाएर किशोरीलाई हैरानी दिने गरेको प्रहरीको भनाइ छ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई शनिबार पक्राउ गरेको थियो। आइतबार उनलाई सार्वजनिक गर्दै प्रहरीले ‘बालबालिकासम्बन्धी ऐन, २०७५’ र प्रचलित फौजदारी कानुन बमोजिम थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ। अभियुक्तलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ।