नागढुङ्गा सुरुङमार्गबाट ओलीको शिलालेख हटाइएको विषयमा विवाद : ‘इतिहास मेटिँदैन’ भन्दै एमालेको आपत्ति
काठमाडौँ, १० साउन । नागढुङ्गा सुरुङमार्गको उद्घाटनको पूर्वसन्ध्यामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम अङ्कित शिलान्यास शिलालेख (शिलापत्र) हटाइएको विषयले राजनीतिक वृत्त र सामाजिक सञ्जालमा विवाद सिर्जना गरेको छ । आयोजनास्थलबाट ओलीको नाम मेटाइएको भन्दै नेकपा (एमाले) र अन्य दलका नेता–कार्यकर्ताले सरकारको कडा आलोचना गरेका छन् ।
तत्कालीन प्रधानमन्त्री ओलीले २०७६ कात्तिक ४ गते यस सुरुङमार्गको शिलान्यास गर्नुभएको थियो । शिलालेख हटाइएको विषयमा टिप्पणी गर्दै एमाले महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जालमार्फत सरकारको यो कदमलाई ‘निकृष्ट पूर्वाग्रह र प्रतिशोधको राजनीति’ को संज्ञा दिनुभएको छ । उहाँले भन्नुभएको छ, “शिलालेखबाट नाम मेटिएला, तर इतिहास मेटिँदैन । प्रतिशोध र पूर्वाग्रह प्रजातान्त्रिक गुण होइनन् भन्ने सत्य बचनलाई सरकारले मनन गर्न सकेन ।”
महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले इतिहास र लोकतान्त्रिक मूल्य बिर्सेर गरिने यस्ता हर्कतले दुर्भाग्यपूर्ण पतनतर्फ धकेल्ने चेतावनी दिनुभएको छ ।
के भन्छ आयोजना ?
यस विषयमा नागढुङ्गा सुरुङमार्ग आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले प्राविधिक कारणले शिलालेख स्थानान्तरण गरिएको स्पष्टीकरण दिनुभएको छ । उहाँका अनुसार सुरुङ खन्ने क्रममा शिलालेख रहेको स्थानभन्दा केही मुनिबाटै काम गर्नुपर्ने भएपछि सुरक्षाका लागि त्यसलाई सडक विभागको बबरमहलस्थित वैदेशिक महाशाखाको कार्यालयमा राखिएको थियो ।
“सुरुङ खन्ने क्रममा असर पर्ने भएपछि हामीले त्यसलाई विभागमा सुरक्षित राखेका थियौँ,” पन्थीले भन्नुभयो, “तर गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा विभागको भवनमा आगजनी हुँदा उक्त शिलालेख पनि जलेको वा हराएको हुन सक्ने देखिएको छ । हामीले खोजिरहेका छौँ तर अहिलेसम्म भेटाएका छैनौँ ।”
हराएको शिलालेखको सट्टा नयाँ शिलालेख राख्ने वा नराख्ने भन्ने विषयमा हालसम्म कुनै आधिकारिक निर्णय नभएको पन्थीले जानकारी दिनुभयो । सामान्यतया शिलान्यासको समयमा पूजा गरिएको शिला नै उद्घाटनमा राख्ने परम्परा छ ।