अमेरिका–इरान तनावमा केही शिथिलता, वार्ताको सम्भावना बलियो बन्दै, तेलको मूल्य घट्यो

एजेन्सी, ११ साउन । विगत पाँच महिनादेखि जारी अमेरिका र इरानबीचको सैन्य टकरावमा केही शिथिलता देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीतिक प्रयासलाई स्थान दिने सङ्केत गर्नुभएको र इरानले पनि प्रतिशोधात्मक आक्रमण रोकेकाले तनावपूर्ण वातावरण मत्थर भई वार्ताको सम्भावना बलियो बन्दै गएको देखिएको छ।

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले राष्ट्रपति ट्रम्प वार्ताका लागि ठाउँ दिन इच्छुक रहनुभएको र अमेरिकी सेना पूर्ण तयारी अवस्थामा रहे पनि तत्काल थप कारबाही नगरिने जानकारी दिनुभयो। अर्कोतर्फ, इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियाले अमेरिकाले विगत दुई रातदेखि हवाई आक्रमण रोकेकाले इरानले पनि प्रतिशोधात्मक सैन्य प्रतिक्रिया स्थगित गरेको बताउनुभयो। यसअघि अमेरिकी सेनाले लगातार १३ रातसम्म इरानका विभिन्न सैन्य निसानाहरूमाथि हवाई आक्रमण गरेको थियो।

खाडी क्षेत्रमा जारी टकराव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। ब्रेन्ट क्रुडको मूल्य करिब ५.९ प्रतिशतले घटेर प्रतिब्यारेल ९१.०८ अमेरिकी डलरमा झरेको छ भने वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) ५.७३ प्रतिशतले घटेर प्रतिब्यारेल ८४.१९ अमेरिकी डलरमा कारोबार भएको छ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसै साता ह्वाइट हाउसको भ्रमण गर्ने कार्यक्रम तय भएको छ। सो क्रममा उहाँले अमेरिकी राष्ट्रपति ट्रम्पलाई इरानको आणविक कार्यक्रमविरुद्ध कडा नीति कायम राख्न आग्रह गर्नुहुने अनुमान गरिएको छ। नेतान्याहुले इरानको आणविक कार्यक्रम कुनै पनि माध्यमबाट अन्त्य हुनुपर्ने धारणा राख्दै आउनुभएको छ भने इरानले भने आफ्नो आणविक कार्यक्रम नागरिक ऊर्जा सम्बन्धी शान्तिपूर्ण प्रयोजनका लागि मात्र रहेको दाबी गर्दै आएको छ।

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले भने उत्तरपश्चिमी यमनमा साउदी अरेबियाको एउटा सैन्य ड्रोन खसालेको दाबी गरेका छन्। उनीहरूले साउदी अरामकोका इन्धन पूर्वाधारमा आक्रमण गरेपछि साउदी अरेबियाले यमनका हुथी विद्रोहीका निसानामा बमबारी गरेको थियो। यता, इरानको राजधानी तेहरानमा भने तत्कालका लागि युद्धको मनोवैज्ञानिक दबाब कम भई जनजीवन सामान्य बन्दै गएको सञ्चारमाध्यमहरूले जनाएका छन्।