भारतले धौलीगङ्गा बाँधको ढोका खोल्ने : महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

दार्चुला, १२ साउन । भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएपछि महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

त्यहाँको एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसनले बुधबार बिहान ६:०० बजेदेखि बिहीबार अपराह्न ६:०० बजेसम्म बाँधको सिल्ट (बालुवा थिग्रिएको) सफाइका लागि ढोका खोल्ने जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज एक सूचना जारी गर्दै सो अवधिमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने जोखिम रहेकाले नदी किनारका बस्तीहरूलाई सतर्क रहन भनेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार बाँधका ढोका खोलिँदा नदीमा एक्कासि पानीको बहाव बढ्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई नदी छेउछाउ नजान र आवश्यक पूर्वसावधानी अपनाउन सचेत गराइएको हो ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय बैतडीले पनि महाकाली तटीय क्षेत्रका बासिन्दाका लागि छुट्टै सतर्कता सूचना जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले विज्ञप्ति सार्वजनिक गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी स्थानीय तह, सुरक्षा निकाय र सरोकारवालाहरूलाई आवश्यक पूर्वतयारीमा रहन निर्देशन दिनुभएको छ ।

बाँध खोलिने समयमा महाकाली नदीको बहावमा अस्वाभाविक वृद्धि हुन सक्ने भएकाले दार्चुला, बैतडी र डडेलधुराका नदी किनारका बासिन्दाहरूलाई विशेष ध्यान दिन सुरक्षा निकायले आग्रह गरेका छन् ।