पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौँ, साउन २० । नारायणगढ-मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएसँगै यातायात सेवा पुनः पूर्ववत् सञ्चालनमा आएको छ । आज बिहान पहिरोका कारण अवरुद्ध भएको उक्त सडक अहिले दुईतर्फी रूपमै सुचारु भएको हो ।

डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार आज बिहान ७:०५ बजे सडकखण्डमा पहिरो खसेर यातायात पूर्ण रूपमा ठप्प भएको थियो । सडक विभागको टोली र मेसिनको सहायताले पहिरो पन्छाएपछि सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन् ।

वर्षायाम सुरु भएसँगै यस सडकखण्डमा पटक पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ । सडक खुलेपछि जाममा रोकिएका सयौँ सवारी साधन र यात्रुहरूले राहत महसुस गरेका छन् । सडक कार्यालयले वर्षाको समयमा यस सडकखण्डमा यात्रा गर्दा सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।