राष्ट्रियसभाको बैठक सुरु, विभिन्न विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ, २७ साउन । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बुधबार सुरु भएको छ। आजको बैठकमा विभिन्न विधेयकहरू पेस गर्ने र प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू टेबुल गर्ने कार्यसूची रहेको छ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची रहेको छ।

यसैगरी, बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्नुहुनेछ भने कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।