अवरुद्ध पृथ्वी राजमार्ग सुचारु : काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी साधन छुट्ने
काठमाडौँ, भदौ १२ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग आज साँझदेखि पुनः सञ्चालनमा आएको छ । राजमार्गमा जम्मा भएको लेदो र पहिरो पन्छाएपछि यातायात सुचारु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।
ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडक खुलेसँगै राजमार्गमा अलपत्र परेका सवारीसाधनहरूलाई प्राथमिकताका साथ सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ । “लामो समयदेखि राजमार्गमा अड्किएका सवारीसाधनहरूलाई आज रातभरिमा सुरक्षित स्थानतर्फ पठाइनेछ,” प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।
यसैबीच, नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले काठमाडौँबाट उपत्यका बाहिर जाने सार्वजनिक सवारीसाधनहरू भोलि शनिबार बिहानदेखि मात्र पठाइने जानकारी दिनुभयो । राजमार्गमा सवारीसाधनको चाप र सुरक्षालाई मध्यनजर गर्दै भोलि बिहानदेखि मात्र नयाँ सवारी सञ्चालन गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।