भोटेकोशी बाढीको महाविपत्ति : न जीवितै भेटिने आशा, न शवको टुङ्गो; तस्बिर बोकेर भौँतारिँदै आफन्त
काठमाडौँ, १४ भदौ । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीले सयौँ परिवारको खुसी मात्र लुटेको छैन, उनीहरूलाई कहिल्यै निको नहुने घाउ र अनिश्चितताको भुमरीमा समेत धकेलिदिएको छ। विपद् आएको पाँच दिन बितिसक्दा पनि आफ्ना प्रियजनको कुनै अत्तोपत्तो नपाएपछि पीडित परिवारहरू हातमा तस्बिर बोकेर अस्पताल, प्रहरी कार्यालय र नदी किनारमा भौँतारिइरहेका छन्।
समय घर्कँदै जाँदा उनीहरूलाई जीवितै भेट्ने आशा त मरेको छ, तर कम्तीमा अन्तिम पटक अनुहार देख्न पाइने कि भन्ने आशमा उनीहरू आँखाभरि आँसु लिएर यताउता धाइरहेका छन्।
नुवाकोट र रसुवाको सिमाना बेत्रावतीकी उमा गोले र उनका छोराछोरी बाढीपछि बेपत्ता छन्। उनीहरूको खोजीमा विरक्तिएकी बहिनी बिमा गोले भन्छिन्, “भदौ १० गते बिहान ९:१४ बजेसम्म दिदीसँग कुरा भएको थियो। दिदीले ‘भाग, भाग, भाग्नुपर्छ’ भन्दै कराउनुभएको थियो, त्यसपछि एक्कासि फोन काटियो।” बिमा अहिले आफन्तको तस्बिर बोकेर अस्पताल र प्रहरीका सहायता कक्षमा पुग्छिन्, तर कतैबाट सुखद खबर मिल्दैन। “जीवितै भेटिने आशा त छैन, तर कतै शरीर मात्रै भए पनि भेटिए हुन्थ्यो,” उनी भक्कानिँदै भन्छिन्।
दाङकी धनसरी नेपाली आफ्ना २६ वर्षीय छोरा निरज नेपालीको खोजीमा काठमाडौँका विभिन्न अस्पतालमा भौँतारिइरहेकी छन्। रसुवागढीमा जेसिबी चालकका रूपमा कार्यरत निरज बाढी आएदेखि सम्पर्कविहीन छन्। छोराको खोजीमा भौँतारिइरहेकी उनी देख्ने जोसुकैलाई एउटै बिन्ती गर्छिन्, “मेरो छोराको केही खबर छ कि?”
त्यसै गरी बर्दियाका शिवबहादुर थारू पनि मैलुङ क्षेत्रबाट बेपत्ता भएका छन्। उनका भाइ सुमावीर थारू दाजुको खोजीमा दिनरात एक गरिरहेका छन्।
विपद्मा परेकाको उद्धार गर्न खटिएका सुरक्षाकर्मी र सरकारी कर्मचारीले समेत ज्यान जोगाउन सकेनन्। चिमुरे प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सम्राट शेर्पा प्रहरी भ्यानसहित बाढीमा बेपत्ता भएका हुन्। रामेछाप घर भएका सम्राटको खोजीका लागि उनका काका गणेश शेर्पाले काठमाडौँदेखि चितवनको नारायणी किनारसम्म आफन्तहरू खटाएका छन्। “रसुवा जान बाटो छैन, शव बगेर तल पुग्यो कि भनेर नारायणगढसम्म मान्छे पठाएका छौँ, तर अहिलेसम्म केही अत्तोपत्तो छैन,” गणेशले सुनाए।
यस्तै, रसुवागढी भन्सारमा कार्यरत नुवाकोटका दलबहादुर तामाङका आफन्त धनलाल तामाङ पनि दलबहादुरको खोजीमा अस्पतालका शवगृहहरू चहारिरहेका छन्।
भोटेकोशीको बाढीले बगाएर ल्याएका शवहरू रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनको नारायणी नदीसम्म पुगेका छन्। धेरै शवहरू पहिचान गर्नै नसकिने अवस्थामा फेला परेका छन्। प्रहरीले पहिचानका लागि ‘क्युआर कोड’ र तस्बिरहरू सार्वजनिक गरे पनि आफन्तहरूले आफ्नो मान्छे चिन्न सकिरहेका छैनन्।
विपद्का यी पाँच दिन धेरैका लागि युगौँ लामो र कष्टकर सावित भएका छन्। आशा र निराशाको दोसाँधमा रहेका यी परिवारका लागि अहिले एउटै कामना छ– कम्तीमा आफ्ना आफन्तको यथार्थ थाहा पाउन पाइयोस्।