उदयपुरको बाँकेटारमा १ हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ

उदयपुर, १५ भदौ । उदयपुरको कटारी नगरपालिकामा प्रहरीले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। कटारी–६, बाँकेटारस्थित शान्तिवन जङ्गल क्षेत्रमा लुकाइछिपाइ राखिएको १ हजार १२२ किलो ६७ ग्राम गाँजासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जङ्गलमा खानतलासी गर्दा ५२ वटा बोरामा प्याक गरिएको अवस्थामा उक्त गाँजा फेला पारेको हो। “जङ्गल क्षेत्रलाई प्रयोग गरी अवैध रूपमा भण्डारण गरिएको गाँजा ठुलो परिमाणमा बरामद भएको छ,” एसपी चापागाईंले भन्नुभयो।

गाँजा ओसारपसार र भण्डारणमा संलग्न रहेको आरोपमा प्रहरीले ताप्ली गाउँपालिका–१, डाँडागाउँका रामबहादुर मगर, नेकबहादुर मगर र पृथ्वीराज मगरलाई पक्राउ गरेको छ।

त्यसै गरी, गाँजा ओसारपसारमा प्रयोग भएको आशङ्कामा बा १६ च ५२६९ नम्बरको बोलेरो जिपलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कटारीमा राखेर लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।