भोटेकोशी बाढी : उत्तरगया गाउँपालिकाका ४२६ जना बेपत्ता, प्रशासनिक सेवासहित सबै संरचना ध्वस्त
रसुवा, १७ भदौ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवाको उत्तरगया गाउँपालिकामा अकल्पनीय मानवीय र भौतिक क्षति पुगेको छ। बाढीले गाउँपालिकाका विभिन्न बस्तीहरू नै सखाप पारेपछि हालसम्म ४२६ जनाभन्दा बढी स्थानीय बासिन्दा सम्पर्कविहीन भएका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीका अनुसार बाढीको सबैभन्दा ठुलो मार वडा नं. १ मा परेको छ, जहाँ २१९ जना बेपत्ता छन्। यस्तै, वडा नं. २ मा ८८ जना, वडा नं. ३ मा २७ जना, वडा नं. ४ मा ७७ जना र वडा नं. ५ मा १५ जना बेपत्ता भएका छन्। बाढीमा परेर गाउँपालिकाका ५ जना कर्मचारी समेत बेपत्ता भएकामा हालसम्म एक जनाको मात्र शव फेला परेको छ। कतिपय टोलहरू अझै पनि पूर्ण रूपमा सम्पर्कविहीन रहेकाले क्षतिको वास्तविक विवरण आउन बाँकी छ।
बाढीले गाउँपालिकाको अस्तित्व नै सङ्कटमा पारिदिएको छ। बाढीको तीव्र बहावले गाउँपालिकाको प्रशासनिक भवन, तीनवटा विद्यालय, स्वास्थ्य चौकी, पशु सेवा र कृषि कार्यालय पूर्ण रूपमा बगाएको छ। सञ्चार र विद्युत् सेवा अवरुद्ध हुनुका साथै बैंकिङ सेवा समेत ठप्प भएको छ। “कार्यालय र बैंकहरू नचल्दा पीडितहरूलाई तत्काल नगद राहत उपलब्ध गराउन समेत कठिन भएको छ,” प्रमुख प्रशासकीय अधिकृत उप्रेतीले भन्नुभयो।
घरबारविहीन भएका र जोखिममा रहेका नागरिकका लागि गाउँपालिकाले विभिन्न स्थानमा ६ वटा होल्डिङ सेन्टर सञ्चालन गरेको छ। हाल गणेश आदर्श विद्यालयमा ४९, सल्ले प्राविमा १२१, कालिका माविमा १९, भीमसेन आधारभूत विद्यालयमा ४९, शिवालयमा २०० र सामुदायिक भवनमा १८ जनालाई आश्रय दिइएको छ। शिवालय सेन्टरमा रहेकामध्ये १३० जनाभन्दा बढी बालबालिका रहेका छन्।
विपत्तिमा परेर बुबा-आमा दुवै गुमाएका बालबालिका, एकल महिला र ज्येष्ठ नागरिकहरूको संरक्षण र पालनपोषण गाउँपालिकाका लागि अहिले मुख्य चुनौती बनेको छ। विस्थापितहरूको उचित पुनर्स्थापनाका लागि गाउँपालिकासँग पर्याप्त स्रोत र साधन नभएको अधिकारीहरूले बताएका छन्।
हालसम्म सङ्घीय र प्रदेश सरकारको प्रभावकारी उपस्थिति नदेखिएको र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहयोगमा राहत कार्य भइरहेको गाउँपालिकाले जनाएको छ। त्रिशूली नदी पारिका वडाहरूमा राहत सामग्री पुर्याउन सडक र पुल नहुँदा थप सास्ती खेप्नुपरेको छ।