दक्षिण अष्ट्रेलियाविरुद्ध नेपाल ‘ए’ को बलिङ: १५ ओभरमा दुई विकेट झर्यो

 

डार्विन, काठमाडौँ, १९ भदौ । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोलीले आज आफ्नो दोस्रो एकदिवसीय खेलमा दक्षिण अष्ट्रेलियाको सामना गरिरहेको छ। अष्ट्रेलियाको डार्विनस्थित गार्डेन्स ओभलमा जारी खेलमा दक्षिण अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ।

ताजा अवस्था अनुसार, दक्षिण अष्ट्रेलियाले १५ ओभरको समाप्तिमा २ विकेट गुमाएर ५४ रन बनाएको छ। नेपालका लागि बलरहरूले कसिलो सुरुवात दिलाएका छन्। नेपालका तर्फबाट राशिद खान र नारायण जोशीले समान १–१ विकेट लिन सफल भएका छन्।

आजको खेलमा नेपाली टोलीले आफ्नो प्लेइङ सेटमा एक महत्त्वपूर्ण परिवर्तन गरेको छ। प्रमुख ब्याटर कुशल भुर्तेललाई आराम दिइएको छ भने उनको स्थानमा राशिद खानलाई मैदान उतारिएको छ।

नेपाल ‘ए’ यस भ्रमणमा आफ्नो पहिलो जितको खोजीमा रहेको छ। यसअघि भएको पहिलो एकदिवसीय खेलमा नेपाल अष्ट्रेलियाको घरेलु टोली तास्मिनियासँग १ विकेटको झिनो अन्तरले पराजित भएको थियो। नेपालले आफ्नो तेस्रो खेल आगामी आइतबार न्युजिल्यान्ड ‘ए’ विरुद्ध खेल्ने तालिका रहेको छ।