गोरखाको चुमनुब्रीमा बाढीले चार घर र पुल बगायो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं , २१ भदौ । गोरखाको चुमनुब्री गाउँपालिका ४ मा बाढीले चार घर बगाएको छ ।

गोरखाका डिएसपी राजकुमार श्रेष्ठका अनुसार गएराति तीन बजेतिर नाम्रुङ खोलामा आएको बाढीले वडा नम्बर ४ नाम्रुङका नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको हो ।

बाढीबाट मानवीय क्षति भने नभएको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । बाढी आएको थाहा पाएपछि स्थानीय बासिन्दाले भागेर ज्यान जोगाएको उहाँले बताउनुभयो

मुहान भेगतिर खोला केही बेर थुनिएर लेदोसहित बाढी आएको हुन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभएको छ

बाढीले सो गाउँपालिकाको वडा नम्बर ४ र वडा नम्बर २ जोड्ने फलामको पुल समेत बगाएको उहाँले बताउनुभयो । आइतबार बिहान ४:४० बजेदेखि भने बाढीको बहाव कम भएको र अहिले खोला पहिलाकै अवस्थामा फर्किएको उहाँले जानकारी दिनुभयो

सो खोला अगाडि बढेर बूढीगण्डकी नदीमा मिसिने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको समेत उहाँले बताउनुभएको छ