लगातार चार दिन बढेकाे नेप्से सामान्य घटेर बन्द, कारोबार भने बढ्यो

काठमाडौं, २४ भदौ । साताको दोस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यसअघिका लगातार चार कारोबार दिन बढेर बन्द भएको नेप्से आज भने ओरालो लागेको हो।

बुधबार नेप्से परिसूचक १५.४३ अंकले घटी २५४५.४० विन्दुमा झरेको छ। यसैगरी सेन्सेटिभ इण्डेक्स १.६१ अंक, फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंकले घटेको छ।

परिसूचक घटे पनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा बुधबार ३५२ कम्पनीको ५०,८०४ पटक कारोबारबाट १ करोड ९ लाख ६५ हजार कित्ता शेयर, अर्थात् ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

आजको कारोबारमा अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किटमा गई ३९ रुपैयाँले बढेर रु. २९९ मा अन्तिम कारोबार भएको छ। शुभम् पावरको शेयरमूल्य पनि करिब साढे ६ प्रतिशतले बढेको छ। यता इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयरमूल्य भने १५ प्रतिशतसम्म घटेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्षस्थानमा रह्यो, जसको रु. ४२ करोड ७६ लाख बराबरको शेयर कारोबार भयो। सेन्ट्रल फाइनान्सको १७ करोड रुपैयाँभन्दा बढी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यस दिन सबै १३ उपसमूहको परिसूचक घटेको छ, जसमध्ये विकास बैंक उपसमूह सबैभन्दा बढी २.३७ प्रतिशतले घटेको छ।