आसिफ शेखको शतकीय पारी, नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

काठमाडौं, २७ भदौ । ओपनर आसिफ शेखको शतकको सहायताले एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)लाई ३१४ रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई ३१३ रन बनाएको हो।

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेले। उनले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए, जुन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको दोस्रो शतक हो। यसैगरी गुलशनकुमार झाले पनि अर्धशतकीय पारी खेल्दै ३८ बलमा ४ छक्का र ३ चौकाको सहायताले ५२ रन बनाए, जुन एकदिवसीयमा उनको छैटौं अर्धशतक हो।

अन्य ब्याट्समनमा अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले अपराजित १५ र ईशान पाण्डेले १३ रनको योगदान दिए। युएईको बलिङतर्फ इब्रार अहमदले चार, खुजैमा तनवीरले दुई तथा हैदर अली र अबिद उस्मानीले एक-एक विकेट लिए।

आजको खेल जित्ने टोलीले सन् २०२७ मा हुने एसिसी एसिया कप खेल्ने अवसर पाउनेछ। नेपाल यसअघि सन् २०२३ को एसिसी प्रिमियर कपको उपाधि जितेर एसिया कप खेल्ने अवसर पाएको थियो र अब दोस्रोपटक एसिया कपमा छनोट हुने योजनामा छ।