सल्यानमा बोलेरो दुर्घटना : मृतकको संख्या तीन पुग्यो, तीन जना घाइते
सल्यान, २७ भदौ । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।
शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप आफैं अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका–५ सल्लेकी करिब १८ वर्षीया विपना बुढाथोकी र ५० वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ। रेशम र विपनाको सल्यानमै घटनास्थलमै मृत्यु भएको थियो भने डिल्लीबहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये चालक त्रिवेणी गाउँपालिका–५ सिम्कका २४ वर्षीय भुपाल पुनको अवस्था गम्भीर रहेको छ। उनको टाउकोमा गम्भीर चोट लागेको र हाल बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
अन्य घाइतेमा त्रिवेणी–५ का २९ वर्षीय पारस बोहरा र त्रिवेणी–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी रहेका छन्। प्रहरीका अनुसार उनीहरूको पनि टाउकोमा चोट लागेको तर अवस्था मध्यम रहेको छ।
घाइतेलाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।