आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
काठमाडौँ, १ असोज । कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन्।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआराधना गरिन्छ। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष रूपमा सजाएर श्रमिकहरूले यो दिवस भव्यताका साथ मनाउने गर्छन्। बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ।
आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा त्यो धेरै समय टिक्ने, काममा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।
पौराणिक मान्यता
प्रा. तोयराज नेपालका अनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसैबेलादेखि पूजा गर्ने परम्परा बसेको उनको भनाइ छ।
प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा पनि मानिन्छ। विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ।
वास्तुशास्त्री शिव पोखरेलका अनुसार विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा पनि मानिन्छ र ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रको ग्रन्थ उनैले रचना गरेको विश्वास गरिन्छ।
यही सम्झनामा नेपालका कालिगढले भव्य रूपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन्। पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ आज इन्जिन जडान भएका यन्त्र तथा सवारीसाधनमा समेत पूजाआराधना गरिन्छ।
वास्तुशास्त्रका पुस्तकका लेखक तथा अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रूपमा मनाउने गर्छन्।
पछिल्लो समय नेपालमा पनि वास्तुविद्याको पुनर्जागरण सुरु भएको छ। चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ। लुप्तप्रायः भएको स्थापत्यवेदमा आधारित सहर तथा आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेकाले पछिल्लो समय वास्तुविद्याको महत्व बढेको छ।
