अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सञ्चालन
चितवन, १ असोज । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजबिहानदेखि पुनः सञ्चालनमा आएको छ। भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो।
सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा नयाँ ट्र्याक खोलेर आजबिहानदेखि दुईतर्फी सडक सञ्चालन गरिएको हो। त्रिशूली नदीले सडकको तल्लो भाग बगाएपछि सडक पूरै भासिएको थियो।
पूर्णरूपमा सडक अवरुद्ध बनेपछि भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक खोलिएको थियो। नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्ममा सबै काम सकिएपछि आजदेखि सडक सञ्चालनमा ल्याइएको हो।
नदी कटानबाट करिब १०० मिटर सडक क्षतिग्रस्त भई यातायात अवरुद्ध भएकामा पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधनको अधिकतम परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको काम गरेसँगै छोटो समयमा सडक सञ्चालनमा आएको हो। दुई दिनअघिदेखि नै सडकमा रोकिएका सवारीलाई साँझ कटाइएको थियो भने आजदेखि भने नियमित गरिएको छ।
कृष्णभिरमा सवारी सञ्चालन भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रोकिएको सवारी पनि आजदेखि सञ्चालनमा ल्याइएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभीरमा सवारी सञ्चालन भएसँगै तत्कालका लागि तुइन खोलामा आंशिक सडक रोकेर गरिएको पहिरो रोकथामको काम रोकिएको जानकारी दिए।
लामो समयदेखि कृष्णभिरको सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन सङ्घीय राजधानी आवतजावत गर्न नपाएकाले राजधानीमा एलपी ग्यासको अभाव देखिएको थियो।
गत भदौ १० गते भोटेकोशी बाढीपछि बढेको त्रिशूलीमा भदौ १४ गते पुनः बाढी आएपछि कृष्णभिरलगायत पृथ्वी राजमार्गका विभिन्न ठाउँमा सडक भासिएको थियो। अन्य ठाउँमा सहज भए पनि कृष्णभिरमा पूरै भासिएपछि समस्या भएको हो। यो सडकमार्फत दैनिक १४ हजार सवारीसाधन आवतजावत गर्ने गर्छन्।
