वित्तीय प्रणाली आएको समस्याले नै सेयर बजार घटायो — नन्दकिशोर मुन्दडा ,सेयर ब्रोकर

 

पछिल्लो समयको सेयर बजारलाई कसरी हेर्नुभएको छ ?

विगत केही समयदेखि सेयर बजार घट्दो क्रममा देखिएको छ । बजार घट्नुको कारण बैंक वित्तीय संस्थामा लगानीयोग्य पुँजीको कमी हो । त्यसका साथै बैंकहरूले सीसीडी रेसियो कायम गर्न समस्या भएकाले पनि पुँजीबजारलाई असर गरेको छ । बजार घट्नुको कारण बैंक वित्तीय संस्थामा लगानीयोग्य पुँजीको कमी हो ।
गत साउनमा हालसम्मकै उच्च बिन्दु १८८१ मा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अझै बढ्नुपर्ने भन्नेहरू पनि छन, त्यो उचाइलाई अवश्यकताभन्दा धेरै भएको भन्ने पनि छन,

तपाईंलाई त्यो उचाइको वास्तविकता के हो भन्ने लाग्छ ?

हाम्रो विश्लेषणमा हेर्दा बजार बढ्नु र त्यो उचाइमा पुग्नुमा धेरै कारण थिए । बजार बढ्नुको मुख्य कारणमा पुँजी बजारका लागि आवश्यक पूर्वाधार निर्माणको क्रम बढेको छ । त्यसका साथै नियामक धितोपत्र बोर्डको सक्रियता पनि बढेको छ । त्यो बेलाको सुधारमा बिमा समूहको सबैभन्दा धेरै योगदान रह्यो ।
आर्थिक सूचकहरूअनुसार सेयर बजार पनि जानुपर्छ । तर, आर्थिक सुधार भनेको म्याक्रो लेभलको सुधार हो ।
बजार फैलिएको हुनाले पनि सुधार आएको थियो । वित्तीय प्रणालीमा तरलता पर्याप्त थियो । ब्याजदर पनि न्यून भएकाले सेयर बजारमा लगानी गर्न सहज थियो । त्यो मात्र नभई सूचीकृत कम्पनीहरूको कार्यसम्पादन तथा सेयर धनीलाई दिने प्रतिफलको अनुपात पनि राम्रो थियो । भूकम्पपछि सबै क्षेत्रमा समस्या आएको भए पनि सेयर बजारमा सुधारको क्रम कायम रह्यो ।
बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरूको चुक्ता पुँजी ४ गुणासम्म बढाउने नीति लियो । त्यो नीतिले सेयर बजारमा लगानी गर्ने लगानीकर्ता उत्साह बढ्यो, जसले बजार सूचकलाई नयाँ उचाइ बनाउनमा सहयोग ग¥यो । पछिल्लो समयमा सेयर बजार अधारभूत रूपमा निर्दे्शित हुन खोजेको देखिन्छ ।

हाल बजार घट्दा कस्तो प्रभाव परिरहेको छ ?

हाल बजार घटिरहेको छ । सेयर बजार कहिल्यै पनि पूर्ण हँुदो रहेनछ । वित्तीय प्रणालीमा देखिएको समस्या आउनुअघिदेखि नै सेयर बजार घट्न थालेको थियो । हाल बजार घट्नुको मुख्य कारण लगानीकर्ताको सिक्स सेन्सले काम गरेर वा लगानीकर्तालाई वित्तीय प्रणालीमा समस्या आउँदैछ भनेर पहिल्यै थाहा भएर हो ।
केही समयअघि मात्र अन्तर्रा्ष्ट्रिय मुद्राकोषले आर्थिक वृद्धिदर बढेर पनि सरकारले प्रक्षेपण गरेअनुसार नहुने भनेको छ । कृषि उत्पादन बढ्ने भएकाले पनि आर्थिक वृद्धि बढ्ने भनेको छ । त्यो हुँदा पनि हाम्रो बजार घटिरहेको छ ।
एफपीओ भन्दैमा पछि दौडन भएन, कम्पनी हेरेर लगानी गर्नुपर्छ । संस्थागत रूपमा जाने हो भने एफपीओ नकारात्मक नै होइन ।
हाल वित्तीय प्रणालीमा देखिएको समस्या अल्पकालीन होला । यो समस्या समाधान भए राजनीतिक रूपमा पनि स्थिरता आएको खण्डमा सेयर बजार पनि स्थिर हुनुपर्छ भन्ने हो । आर्थिक सूचकांकले देखाएको सुधार अनुसार बजार पनि सकारात्मक हुनुपर्छ भन्ने हो ।
अर्थतन्त्रअनुसार सेयर बजार निर्देशित हुनका लागि सूचीकृत कम्पनीहरूको सहभागिता कम छ नि ?
अर्थतन्त्रअनुसार सेयर बजार चल्नका लागि अर्थतन्त्रमा योगदान दिने क्षेत्रअनुसार समानुपातिक हिसाबले कम्पनीहरू सूचीकृत हुनुपर्छ भन्ने हँुदैन । त्यस्तो नभएको खण्डमा पनि सेयर बजारलाई अर्थतन्त्रले प्रभाव पार्छ ।
कृषिक्षेत्रको कम्पनी नेप्सेमा सूचीकृत नभए पनि सो क्षेत्रमा भएको सुधारले प्रत्यक्ष–अप्रत्यक्षरूपमा अर्थतन्त्रका अन्य पक्षमा पनि प्रभाव पर्छ नै । त्यसकारण धेरै ठूलो प्रभाव नआए पनि दीर्घकालीन रूपमा त्यो मिल्नु नै पर्छ ।
हुन त पछिल्लो समयमा अर्थतन्त्रमा सुधार हुने भनिए पनि बजारमा गिरावट आएको हुन सक्छ । तर, दीर्घकालीन रूपमा अर्थतन्त्रअनुसार बजार चल्न सकेन भने कि अर्थतन्त्रको मूल्यांकन गलत भएको छ, यो बजार आधारभूत रूपमा गतल छ भन्ने बुझ्नुपर्छ ।

पछिल्लो समयमा नयाँ निष्कासन ह्विमका रूपमा देखिएको छ, लगानीकर्ता पनि त्यसको पछि दौडेको अवस्था छ, यसलाई कसरी विश्लेषण गर्नुभएको छ ?

कम्पनीले पुँजी संकलन गर्ने भनेको हकप्रद निष्कासन गरेर वा नयाँ निष्कासन गरेर हो । पछिल्लो समयमा सेयर बजार सूचीकृत कम्पनीलाई चुक्ता पुँजी वृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्था छ । त्यसका लागि कम्पनीहरूले एफपीओ निष्कासन गरेका छन् ।
कम्पनीले प्रिमियममा एफपीओ निष्कासन गरेको खण्डमा पनि अगामी वर्षमा दिने प्रतिफलमा बोनस वितरण गरेर पुँजी वृद्धि गर्ने हो । एफपीओे गलत होइन । मूल्य निर्धारण गर्ने बहसको विषय हुन सक्छ । मूल्य निर्धारण प्रक्रियाको सन्दर्भमा प्रभावकारी नियमनको सन्दर्भ आउन सक्छ ।
पैसा चाहिएको समयमा सेयर बिक्री गर्न सकिने सेयर बजारको सुन्दरता हो ।
हाल संस्थापक सेयर परिवर्तन गर्न पनि सकिन्छ । एफपीओमार्फत जाँदा संस्थापकलाई फाइदा हुने पनि होइन । यसले कम्पनीको स्ट्रेन्थ बढ्छ । जस्तो नेपाल इन्भेस्टमेन्ट बैंकले पनि नयाँ निष्कासन ग¥यो । त्यो नयाँ निष्कासनअघि र पछिको सन्दर्भ हेर्ने हो भने करिब ४ देखि ५ अर्बको सञ्चित कोषमा फरक परेको छ ।

ठूला लगानीकर्ताले सेयर बिक्री गरेर बजार घटाउन चलखेल गरेका छन् भनिन्छ, त्यसमा सामूहिक लगानी कोषले पनि साना लगानीकर्ताको संरक्षण गर्न सहयोग गरेन भन्ने गुनासो छ, वास्तविकता के हो ?

धितोपत्रको दोस्रो बजारमा लगानी गर्ने कोही पनि सानो र ठूलो भन्ने हुँदैन । लगानीकर्ता आफंैले सानो ठूलोको विभेद बनाएजस्तो लाग्छ । प्राथमिक बजारमा नियामकले नै छुट्ट्याएको छ । ५० हजार रूपैयाँसम्म लगानी गर्ने साना लगानीकर्ता हुन् । तर, दोस्रो बजारमा जोखिम लिन सक्ने भएर प्रवेश गरेपछि ठूलो सानो भन्ने हुन्छ जस्तो लाग्दैन ।
त्यसको परिभाषा पनि छैन । दोस्रो बजारमा साना र ठूला लगानीकर्ता भनेर विभेद गर्नु नै गलत हो । दोस्रो बजारको जोखिम र प्रतिफल बुझेर लिन तयार हुने । तर, बजार घटेको अवस्थामा घटाए भन्नु राम्रो होइन कि ! भारतीय ठूला नोट खारेज हुँदाको समयमा ठूला व्यवसायी तथा लगानीकर्ता सेयर बिक्री गरेको अवस्था थियो ।
सेयर मूल्य कम गरेर भए पनि पैसा चाहिएको हुनाले सेयर बिक्री गरेका थिए । त्यो समयमा समग्र कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको थियो । पैसा चाहिएको समयमा सेयर बिक्री गर्न सकिने सेयर बजारको सुन्दरता हो । त्यो समयमा बिजनेससँग सम्बन्धित व्यक्तिले तरलता व्यवस्थापनका लागि बिक्री गरेको हुन सक्छ ।

शेयर बजारमा कस्ता लगानकिर्ता बढी छन् ?

सेयर बजारमा बचत परिचालन गर्नेभन्दा पनि कर्जामार्फत लगानी गर्ने लगानीकर्ता धेरै छन् । ऋणमा सेयर लगानी गर्ने लगानीकर्ता ब्याजदर बढ्दै गए पनि लगानी बढाउनेभन्दा पनि घटाउने पक्षमा हुँदा सेयर बजारमा आपूर्ति झनै बढेको छ । बैंकहरूले पुँजी वृद्धिको योजना हालको समस्या निम्ताएको हो ।
बैंकहरूले पुँजी वृद्धिसँगै छोटो अवधिको कर्जा प्रवाह पनि तीव्र रूपमा बढाए । बैंकहरूले वित्तीय सूचक राम्रो देखाउनका लागि गरेको कर्जा प्रवाहले पुँजी, कर्जा र निक्षेप अनुपातमा कसिलो हुन पुग्यो, जसले गर्दा हाल बैंकहरूसँग कर्जा प्रवाह गर्न सक्ने अवस्था नभएको हो ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार, पोर्टफोलियो व्यवस्थापक र प्रत्याभूतिकर्ताको काम गर्ने मर्चेन्ट बैंकहरूको कार्यक्षेत्र साँघुरो हँुदै गएको छ । सेयर बजारको विकास भए पनि बजार कै महत्वपूर्ण पक्षको कार्यक्षेत्र साँघुरो हुँदा नियमकले सोच्नुपर्ने हुन्छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काममा बैंकहरू पनि सहभागी हुने भए पनि मर्चेन्ट बैंकहरूको आम्दानी त घट्यो नै । साथै नयाँ कार्यक्षेत्र पनि खोज्नुपर्ने अवस्था आएको छ ।