२० वर्ष पुराना सवारी साधन हटाउन ७५ प्रतिशत सहुलियत माग
काठमाडौ। यातायात व्यवसायीले २० वर्ष पुराना सवारी साधनलाई हटाई नयाँ ल्याउन ७५ प्रतिशतसम्म भन्सार र कर सहुलियत माग गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज बुधवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो। पुराना सवारी साधन हटाएर नयाँ ल्याउँदा मुलुकको अर्बौं लगानी खेर जाने भएकाले सरकारसँग यस्तो माग गरिएको महासङ्घका अध्यक्ष डोलनाथ खनालले बताएका छन्।
ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले व्यवसायीका मागका विषयमा सरोकारवाला निकायसँग छलफल गरिने बताएका छन्। यसअघि महासङ्घले फागुन २ गते उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई पनि ज्ञापनपत्र बुझाई यस्तै माग गरेको थियो।
यही फागुन १७ गतेदेखि यातायात व्यवस्था विभागले उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरेको छ।
प्रकाशन मिति–२०७३ साल फागुन ४ गते बुधवार।