ओलीको बोली निर्धारित अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प छैन
काठमाडौ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व निर्माण गरी समृद्धिको दिशामा अगाडि बढ्न निर्धारित समय अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प नरहेको बताएका छन्।
आज बुधवारबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकको अध्यक्षता गर्दै नेता ओलीले नेपाली जनताको लामो सङ्घर्षको परिणामस्वरुप सार्वभौमसत्ता सम्पन्न संविधानसभाबाट लोकतान्त्रिक विधि र प्रक्रियाका आधारमा जारी भएको नेपालको संविधानको रक्षा गर्नु, सम्वद्र्धन गर्नु र त्यसको कार्यान्वयन गर्नु यतिबेलाको कार्यभार हो भनेका छन्।
संविधानले समेत निर्दिष्ट गरेमुताविक २०७४ माघ ७ गते अगाडि नै जनप्रतिनिधिमूलक निकाय निर्वाचनका माध्यमबाट गठन गर्नु अनिवार्य रहेको कुरामा जोड दिँदै उहाँले स्थानीय तह र केन्द्रीय तहका निर्वाचनको मिति अविलम्ब घोषणा गर्न, त्यसका लागि कानुनी तथा राजनीतिक वातावरण निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बैठकमा समसामयिक परिस्थिति, पार्टीको सङ्गठनात्मक अवस्था, पार्टीका तात्कालिक कार्यभारलगायतका विषय समेटिएको राजनीतिक प्रतिवेदन अध्यक्ष ओलीले बैठकसमक्ष प्रस्तुत गरेका थिए। १० पेज लामो उक्त प्रतिवेदन पोलिटब्युरो सदस्यले अध्ययन गरी भोलिको बैठकमा राय, सुझाव तथा धारणा प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ।
बैठकमा पार्टी स्थायी समितिद्वारा पारित यही फागुन २१ देखि सञ्चालन हुने मेची–महाकाली राष्ट्रिय अभियानसम्बन्धी कार्ययोजना सचिवालय सचिव प्रदीप ज्ञवालीव्दारा बैठकसमक्ष प्रस्तुत गरेका थिए। त्यसैगरी यही फागुन १४ गते देशभरिका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थीको निर्वाचन र त्यसमा पार्टीका तर्फबाट खेल्नुपर्ने भूमिकाका बारेमा सचिव योगेश भट्टराईले बैठकसमक्ष प्रस्तुत गरे।
प्रकाशन मिति–२०७३ साल फागुन ४ गते बुधवार ।