क्युवामा ४३ वर्षपछि प्रधानमन्त्री

 

क्युवा । क्युवाका राष्ट्रपति मिगेल डियाज–केनेलले म्यानिअल मर्रेरो क्रुजलाई देशको प्रधानमन्त्री बनाउनुभएको छ ।
१६ वर्षदेखि देशको पर्यटनमन्त्री रहँदै आएका मर्रेरो पाँच वर्षको लागि प्रधानमन्त्री हुनुहुनेछ । पर्यटन मन्त्रालय सम्हाल्नुअघि उहाँ सेनाका कर्णेल हुनुहुन्थ्यो ।

क्युवामा ४३ वर्षपछि प्रधानमन्त्रीको पद पुनःस्थापना गरिएको हो । सन् १९५९ मा क्रान्ति सफल भएपछि सन् १९७६ सम्म फिडेल क्यास्ट्रोले प्रधानमन्त्री पदमार्फत कार्यकारी अधिकार प्रयोग गर्नुभएको थियो । पछि राज्य परिषदको राष्ट्रपति पद सिर्जना गरेर प्रधानमन्त्री पद खारेज गरिएको थियो ।
मर्रेरोको चयनलाई क्युवाको नेसनल एसेम्ब्लीका ५९४ डेपुटीले सर्वसम्मतीमा अनुमोदन गरेको थियो । वर्षको अन्तिम सेसनमार्फत नेशनल एसेम्ब्लीले प्रधानमन्त्री लगायत उपप्रधानमन्त्री, मन्त्री परिषदका अन्य सदस्य पनि चुनेको थियो ।