सबैले मोर्चाबन्दी गरे पनि एमालेले चुनाव जित्छ : ओली

काठमाडौँ,फागुन १५ गते । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान रोक्न प्रयास गर्ने शक्ति निर्वाचन हुन नदिने षडयन्त्रमा लागेको बताउनुभएको छ । पार्टी मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले जित्ने चुनाव नगर्न पनि त्यस्ता शक्तिहरुले दवाव दिन थालेको वताउनुभयो।

‘एमालेले जित्छ भने किन चुनाव गराउने उनीहरुको सोच त्यस्तो छ । चुनाव नगर्न खोज्दैछन्, तर नगरेर उम्केर कहाँ जान्छन् ?’ ओलीले भन्नुभयो, ‘म भन्न चाहन्छु– जित्छ एमालेले । अव के गर्छौ ? तिमीहरु आत्तिने गरी जित्छ ।’

महाभारतको युद्धमा पाण्डवहरुले जित्ने अवस्थामा पुगेपछि दुर्योधन पानी मुनी गएको र भीमसेनले पानी मुनीबाट ल्याएर भए पनि दुर्योधनलाई पराजीत गरेको ओलीले स्मरण गर्नुभयो। ‘महाभारत युद्ध सकिएपछि दुर्योधन पानी मुनी गएर लुक्यो’ ओलीले भन्नुभयो, ‘तपाईं दोलखावासीहरुलाई भीमसेन को हो थाहा छ । भीमसेनले पानीमुनीबाट ल्याएर पनि दुर्योधनलाई गदाले प्रहार गरेर पराजित गरे ।’
ओलीले आफू नेतृत्वको सरकारले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने योजना ल्याएकाले सोही तयारी अनुरुप लोडसेडिङ अन्त्य भएको वताउनुभयो । ‘मैले पोहोर असोजमा भनेँ– आउने तिहार उज्यालो हुनेछ, अर्को वर्षदेखि लोडसेडिङ हुने छैन’ ओलीले भन्नुभयो, ‘मेरो जिभ्रो थुतौंला झैं गरे विद्वानहरुले । कम्तिमा १० वर्ष लोडसेडिङ अन्त्य हुनै सक्दैन, प्रधानमन्त्री बहुलायो भने ।’

त्यसबेला विद्युत आपूर्ति बढाउने र वितरण ब्यवस्था परिवर्तन गर्न आफ्नो सरकारले योजना ल्याएको ओलीले स्मरण गर्नुभयो। ‘आपूर्ति बढाउनु पर्छ र विद्युत वितरणको ब्यवस्था परिवर्तन गर्नु पर्छ भनेर सबै तयारी गर्यौं । भारतसँग मुजफ्फपुरको लाइनको सम्झौता गर्यौं’ ओलीले भने, ‘भारतबाट विद्युत ल्याउने काम गर्यौं, । हाम्रा आयोजनाहरु बढायौं, लोडसेडिङ नहुने अवस्थामा पुर्यायौं । कसैले आएर जादु गरेको होइन हामीले मेहेनत गरेर त्यस विन्दुमा पुर्याएका हौं ।’

एमालेले सरकारको नेतृत्व गरेका बेला देशमा विकासको लहर आएको वताउँदै ओलीले अव देश पछाडि परिरहन नसक्ने वताएउनुभयो। ‘एमाले छ, अव देश पछाडि परिरहन गरिव भइरहन सक्दैन । जव एमाले सरकारमा पुग्छ तव तहल्का हुन्छ । ०५१ सालमा अल्पमतको सरकार थियो, हटाइयो’ ओलीले भन्नुभयो, ‘यसपल्ट हामीले विभिन्न प्रकारका तत्व मिलाएर सरकार बनाउनु परेको थियो । एमालेले एउटा देशबाट वेष्ठित अवस्थाको देशलाई मुक्त गर्यो, देशमा केही हुँदैन भन्ने अवस्थाबाट माथि उठाएर नेपालको राष्ट्रिय आत्मविश्वास बढायो ।’

ओलीले नेपालमा अस्थिरताको पक्षमा रहेकाहरुले जात र क्षेत्रका नाममा लडाउन खोजेको वताउनुभयो। ‘उनीहरुले यो जात र त्यो जात भनेर लडाउन खोजेका छन् । हामीले सबै नेपाली एक भएर समृद्धिमा अघि बढ्नु पर्छ भनेर लाग्यौं’ ओलीले भन्नुभयो,‘हाम्रो भूमिकाबाट उनीहरु आत्तिए । लोभीपापीहरुलाई डर त्रास देखाएर र किनेर एमाले नेतृत्वको सरकार ढाले । सरकार ढाले तर, प्रभाव ढाल्न सकेका छैनन् ।’

एमालेविरुद्ध सबैले मोर्चाबन्दी गरे पनि सबैलाई पराजित गर्ने ओलीको भनाई थियो । ‘एमालेका विरुद्ध सबै एकजुट हुन्छन्, बलियासँग लड्न एकजुट हुनै पर्यो’ ओलीले भन्नुभयो, ‘तर, एकजुट भएर पनि पार लाग्दैन । स्यालले जति मोर्चाबन्दी गरे पनि हात्तीको शिकार गर्न सक्दैन । वरपर आउन खोज्छन् हात्तीले कुल्चेला भनेर भाग्छन् । चुनाव यस्तै भइरहेको छ यिनलाई ।’