श्रमको सम्मानले मात्रै समाजको विकास सम्भव–राष्ट्रपति भण्डारी
काठमाडौँ, २२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रम गर्नेलाई हेला गर्नु मुर्खता भएको भन्दै श्रमको सम्मान गर्ने समाजले मात्रै विकास गर्न सक्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवस २०७३ को सन्दर्भमा श्रम तथा रोजगारको क्षेत्रमा संलग्न महिला तथा किशोरीसँगको भेटघाट कार्यक्रममा राष्ट्रपतिले सबै चिजको रचना श्रमले नै गर्ने भएकाले यो महान् कार्य भएको टिप्पणी गर्नुभयो । उहाँले समय, परिस्थिति र बाध्यताअनुसार फरक फरक किसिमका श्रम गर्नुपर्ने परे पनि त्यसको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
देशभित्र रोजगारीको सिर्जना गर्न नसक्दा युवा विदेशिनु परेको र त्यसले समाजमा बिग्रह उत्पन्न गरिरहेकामा राष्ट्रपतिले चिन्ता प्रकट गर्नुभयो । बाध्यता वा जबर्जस्ती श्रममा लगाउनु भने बेठीक भएको राष्ट्रपतिको भनाइ छ । अर्को प्रसङ्गमा हरेक समस्याको औषधि राजनीति भएको उहाँले बताउनुभएको छ । उहाँले भन्नुभयो– “जसरी चिकित्सकले औषधि दिएर बिरामीलाई निको पारी समाजसेवा गर्छन्, राजनीति पनि त्यसैगरी समाज सेवा हो । राजनीति सुध्रिएको भए अहिलको समस्या नै आउने थिएन ।’’
सो अवसरमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले महिलाको समृद्धिबिना देशको समृद्धि हुन नसक्ने टिप्पणी गर्नुभयो । कार्यक्रममा उपस्थित किशोरीले रोजगारीको क्रममा भोग्नुपरको भनी सुनाएको पीडाले आफूलाई दुःखी बनाएको उहाँले बताउनुभयो ।
ती समस्याप्रति राज्य संवेदनशील रहेको भन्दै समाधानका लागि ठोस कदम चाल्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न पेसा, व्यवसाय र कममा लागेका महिलाले आफूले भोग्नुपरेको समस्या र सफलताको कथा सुनाएका थिए । दाङकी पूर्व कम्लहरी कमला चौधरीले आफूले मोटरसाइकल मिस्त्रीका रुपमा काम गर्दाका अनुभव, नवलपरासीकी सविता भण्डारीले आफूले १५ वटा गाई पालेर परिवार पालेको कथा, जनकपुरकी मिथिलादेवी यादवले ‘मिथिला चित्र’बाट आफूले १५ जनालाई दिइरहेको रोजगारी र टेम्पो चालक बिमला थापामगरले महिला चालकका सहजता र असहजताबारे अनुभव सुनाउनुभएको थियो ।
त्यस्तै किशोरी सावित्री बस्नेतले रेस्टुराँमा आफूले भोग्नुपरेको यौन दुव्र्यवहार, गीता श्रेष्ठले इँटाभट्टामा भोग्नुपरेको समस्या, तिला गोलेले कार्पेट उद्योगमा भोग्नुपरेको समस्यालगायतका विषयमा आफ्नो अनुभव सुनाउनुभएको थियो ।