जसपा र सरकारबीच सहकार्य हुँदै, मधेस आन्दोलनका २१० जनाको मुद्दा फिर्ता लिइँदै

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाले मधेस आन्दोलनका क्रममा २१० जनालाई लगाइएका मुद्दा फिर्ता लिन गृह मन्त्रालयमा पत्र बुझाएको छ। २१० जनाको सूचीमा रहेका सबै जसपाका नेता–कार्यकर्ता भएको पार्टीले जनाएको छ।
जसपाले बुझाएको सूचीका आधारमा सरकारले मुद्दा फिर्ता लिने सहमति भएको भएको छ ।
गृहमा बुझाएको मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको सूचीलाई महान्यायाधिवक्ताको कार्यालय हुँदै कानुन मन्त्रालयमा लगिनेछ। कानुन मन्त्रालयले मुद्दा फिर्ता लिन मन्त्रिपरिषदमा प्रस्ताव लैजानेछ। मन्त्रिपरिषद्बाट प्रस्ताव अनुमोदन भएपछि मुद्दा फिर्ता लिइनेछ।
जसपाले सरकारसँग पाँचवटा माग राखेको छ। जसमध्ये मुद्दा फिर्ता लिनुपर्ने मागलाई उसले प्राथमिकता साथ उठाएको छ। यसबाहेक जसपाले थुनामा रहेका पार्टीका सांसद रेशम चौधरीको रिहाइ, नागरिकता विधेयक पास गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेको छ। विभिन्न चरणमा भएका वार्तापछि पार्टीले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया सुरु गरेको छ ।

गृह मन्त्रालयमा मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको नामावली बुझाउनुअघि जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *