कर्णाली प्रदेश सरकार आज ढल्दै, मुख्यमन्त्री शाहीले बहुमत सिद्ध गर्न नसक्ने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिनुहुने भएको छ । उहाँले बहुमत सिद्ध गर्न नसक्ने स्पष्ट भएकाले उहाँको सरकार आज ढल्दै छ र अब त्यहाँ नेकपा एमालेका नयाँ सरकार बन्ने भएको छ ।
गत चैत ५ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानूनी बाध्यताका कारण आज विश्वासको मत लिन लाग्नु भएको हो ।
३९ जना सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २० जनाको समर्थन चाहिन्छ।
प्रदेशसभामा माओवादीका १२ जना सांसदमात्रै छन्। कांग्रेसका ६ जना र राप्रपाका एकजना सांसद रहेको प्रदेशमा एमालेका सभामुखसहित २० जना सांसद रहेका छन्। एमालेले भने मुख्यमन्त्रीले आज विश्वासको मत पाउन नसक्ने र आफ्नो नेतृत्वमा भोलि वा पर्सिमा नयाँ सरकार बन्ने बताएको छ ।
