अमेरिका र चीनबाट ल्याइएका कोरोना खोप लगाउन सुरु

 

काठमाडौँ । सरकारले आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार आजबाट एकसाथ ७७ वटै जिल्लामा खोप अभियान सुरु गरिएको हो ।
चीनबाट ल्याइएको भेरोसेल र अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि निश्चित उमेर समूह र अत्यावश्यक क्षेत्रका नागरिकलाई लगाउन लागिएको हो। अमेरिकाले अनुदानमा दिएको १५ लाख ३० हजार डोज खोप सोमबार मात्रै नेपाल आइपुगेको थियो। यो खोप एक डोज लगाउदा हुन्छ।

विभागका अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिकलाई लगाइने छ।

नेपाल सरकारले चिनबाट शुक्रबार मात्रै ८ लाख डोज भेरोसेल खोप खरिद गरी ल्याएको थियो।

यो खोप विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न भई खोप लगाउन छुटेका सबै नागरिकलाई दिइने छ।

त्यसैगरी खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीका लागि जान लागेका नेपाली नागरिकलाई पनि भेरोसेल खोप लगाइने विभागले जनाएको छ।

अमेरिकी सरकारले अनुदानस्वरुप उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने छ। त्यसै गरी यो खोप अपांगता भएका नागरिक, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई लगाइने छ।

खोप लगाउनका लागि नागरिकता वा अन्य कुनै परिचय खुल्ने कागजात बोकेर खोप केन्द्रमा जान पनि विभागले अनुरोध गरेको छ। कुनै प्रमाण नभएमा स्थानीय तहले प्रमाणित गरेको कागजात पेस गर्नुपर्ने हुन्छ।

सार्वजनिक यातायातका चालक, सहचालकहरुले खोप लगाउन आधिकारिक परिचय पत्र र सवारी साधन नम्बरसहित व्यवसायी संघबाट तथ्यगत विवरण पेस गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *