अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पाँच महिनायताकै न्यून
काठमाडौं : कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा पाँच महिनायताकै न्यून बिन्दुमा झरेको छ ।
नेपालले खरिद गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य शुक्रबार प्रतिब्यारेल ९४ डलर ६३ सेन्ट कायम भएको छ ।
कच्चा तेलको मूल्य पाँच महिनायता ३० डलर प्रतिब्यारेलमा घटेपछि यसले नेपाल जस्तो तेलको मूल्यका कारण संकट उन्मुख रहेको अर्थतन्त्रलाई राहत पुग्ने अनुमान गरिएको छ ।
कच्चा तेलको मूल्य घट्नुलाई तेल उत्पादक तथा आपूर्तिकर्ता मुलुकहरुको संगठन (ओपेक प्लस) को निर्णय प्रमुख मानिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दाको फाइदा नेपालमा सुरु भइसकेको नेपाल आयल निगमले जनाएको छ ।
बर्खाका कारण विकास निर्माणको काम नहुने र मानवीय गतिविधि पनि कम हुने भएकाले मासिक खपत नै २४/२५ अर्ब हाराहारी हुने निगमको अनुमान छ । यस अघि यस्तो बिक्री मासिक ३० अर्ब हाराहारी थियो ।
पुस २०७७ बाट बढ्न थालेको इन्धनको मूल्यका कारण पेट्रोलियम पदार्थ हालसम्मकै उच्च रकम मुलुकबाट बाहिरिएको थियो ।
इन्धन खरिदका लागि ठूलो रकम मुलुकबाट निगमको कोषमा रहेका २६ अर्ब रुपैयाँ सकिएर निगम उल्टै ३२ अर्ब रुपैयाँ नोक्सानी भएको थियो ।