मुखमा पलाएको डेढकिलो ट्युमर निकालियो

 
चितवन । यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालमा एक महिलाको च्यापुको हड्डीमा भएको ट्युमर निकालिएको छ । ३४ वर्षीया अमेरिमाया रम्वेलको मुखको दाँया भागमा पलाएको एक किलो पाँच सय ग्राम तौलको ट्युमर निकालिएको हो ।

अस्पतालका दन्त चिकित्सा विभागका कन्सल्टेन्ट डा सन्तोष यादवको नेतृत्वको टोलीले माडी नगरपालिका– १२ बाँदरझुलाकी अमेरीमाया रम्वेलको सफल शल्यक्रिया गरेको हो । दुईवर्ष अघिदेखि उहाँको मुखमा मासु पलाउँदै आएको थियो ।

मासुको परीक्षण ९बायोप्सी० गरेपछि ओसीफाइ फाइब्रोमा भएको पत्ता लागेको चिकित्सकले बताएका छन् । विशेष गरेर ३० देखि ४० वर्षसम्मका महिलामा यो समस्या देखिने गरेको डा सन्तोष यादवले बताउनुभयो । उहाँको दोस्रो पटक शल्यक्रिया गरेर पहिलाको अवस्थामा ल्याइने यादवले उल्लेख गर्दै उहाँले उपचारमा ढिलाइ भए क्यान्सर समेत हुने जानकारी दिनुभयो ।

गरिबीका कारण उपचार गराउन नसकेकाले भरतपुर अस्पतालमा आएपछि अस्पतालले उहाँको निःशुल्क उपचार गरेको हो । आर्थिक अभावमा उपचारबाट वञ्चित नहुन भनेर सेवा प्रदान गरेको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताउनुभयो ।

चैत १८ गते ।