सप्तरीको डाँक्नेश्वरीका सिङ्गो दलित बस्ती शौचालयविहीन

सप्तरी : सप्तरीको डाँक्नेश्वरी नगरपालिका–५ तरहीस्थित सिङ्गो दलित मुसहर बस्ती अझै शौचालयविहीन छ ।

दलित समुदायको बाक्लै बसोबास रहेको उक्त बस्तीमा एउटा पनि शौचालय नहँुदा उनीहरू बस्ती नजिकैको खोलाको खोल्साखोल्सी, बाँसघारी र खेतबारीमा शौचका जाने गरिरहेका छन् ।

करिब एक सय २५ घरधुरीमा करिब तीन सयको जनसङ्ख्या बसोबास रहेको उक्त बस्तीका स्थानीयवासीहरू दिसा पिसाबका लागि बिहानैदेखि नजिकैको बाँसघारी र खेतबारीमा जाने गरेको छ ।

स्थानीय मधु सदाका अनुसार सिङ्गो बस्तीभरि कसैको घरमा शौचालय छैन, त्यसैले बस्तीका महिला र पुरुष सबै नजिकैको बाँसघारी, खोल्साखोल्सी र खेतबारीमा दिसा गर्न पुग्ने गर्छन् । यसका कारण बस्तीमा दुर्गन्ध फैलिने गर्छ ।

डाक्नेश्वरी नगरपालिकाले सबै वडाका घरघरमा शौचालय बनिसकेको जनाउँदै २०७६ सालमै सो वडालाई खुला दिसामुक्त घोषणा गरिएको थियो । उक्त बस्ती नजिकै रहेको चौधरी, साहलगायत जातिको बस्तीमा शौचालय भए पनि छेउमै रहेको मुसहर समुदायको बाक्लो बसोबास रहेको दलित बस्ती भन्ने शौचालयविहीन रहेको छ ।

रामदेव सदाका अनुसार जग्गाकै अभावमा शौचालय नबनेको हो । सो बस्तीमा अधिकांश स्थानीय साहु महाजनकमा हरवाचरवाको रुपमा काम गर्दै आएका छन् ।

ऐलानी जग्गामा घर बनाएर बस्दै आएका दलित मुसहर समुदायलाई जग्गासँगै आर्थिक विपन्नताले पनि शौचालय बनाउन समस्या भएको छ । आर्थिक विपन्नता, जग्गाको अभावलगायतका कारणले आफू अझै शौचालय बनाउन नसकिएको अर्का स्थानीय राधादेवी सदाले बताइन् ।

दलित समुदायमा शौचालयको ठूलो समस्या रहेकाले शौचालय बनाउन प्रेरित गर्दै आएको सो बस्तीमा हरवाचरवा सशक्तीकरणको कार्यक्रम सञ्चालन गर्दै आएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्तासमेत रहनुभएका स्थानीय नरेश सदाको भनाइ छ ।

‘शौचालय बनाउनुस्भन्दा उहाँहरू जग्गा छैन, पैसा छैन भन्नुहुन्छ’, उहाँले भन्नुभयो, ‘हामीले शौचालयका लागि संस्थाको तर्फबाट र अन्य निकायबाट पनि सहयोग जुटाइ दिन पहल गरिरहेका छौं तर मुख्यतः जग्गाको अभाव छ ।’ कतिपयले शौचालय बनाउने जग्गा नभएर नबनाएका हुन भने कतिपयले सरकारले नै शौचालय बनाइन्छ कि भन्ने सोच राखेकाले नबनाएको डाक्नेश्वरी–५ का वडाध्यक्ष रमेशकुमार चौधरीले बताउनुभयो ।

दलित बस्तीमा जग्गा अभाव त छ, तर जग्गा भएकाले पनि सरकारले शौचालय बनाइदिन्छ, शौचालय बनाउन खर्च किन गर्ने ? भन्ने सोचले त्यस बस्तीमा शौचालय बन्न नसकेको हो ।