बेनीमा डेङ्गु ‘खोजी र नष्ट अभियान’ सञ्चालन

म्याग्दी : म्याग्दीकाे सदरमुकाम बेनीमा डेङ्गु रोग नियन्त्रण गर्न लामखुट्टेको ‘खोजी र नष्ट अभियान’ सुरू गरिएको छ ।

बेनी नगरपालिका वडा नं ७ र ८ ले डेङ्गुको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायलाई नै सक्रिय बनाएर डेङ्गु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रमम सञ्चालन गरेको हो ।

म्याग्दीमा सङ्क्रमणको सङ्ख्या १३ जना पुगेको र एक जना डेङ्गु पोजेटिभलाई अस्पतालमा भर्ना गर्नुपरेका अवस्थामा डेङ्गु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको बेनी नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

बेनीबजारभित्रका दुवै वडामा आमासमूह, टोल सुधार समिति, नेपाल प्रहरी, युवाक्लब, विद्यालयका विद्यार्थीसहितको टोलीले शनिबार सरसफाइसहितको अभियानमा जुटेका थिए ।

स्वास्थ्य कार्यालय र भ्याली कलेज काठमाडौँको प्राविधिक सहयोगमा एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग खोज्ने र नष्ट गर्ने कामसहित डेङ्गु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखीकरणसमेत गरिएको थियो ।

जिल्लामा सबैभन्दा धेरै जोखिम बेनीबजार रहेकाले सर्च एण्ड डिस्ट्रोए कार्यक्रममा जोड दिनुपर्ने, विद्यालयस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन, बिरामीले हेलचेक्रयाइँ गर्न नहुने, स्वास्थ्यकर्मीसँग परार्मश नगरी औषधि सेवन गर्न नहुने लगायतका बारेमा समुदायमा माइकिङसमेत गरिएको छ ।

डेङ्गुको सङ्क्रमणबाट बच्न सुरुमा आफ्नै घर वरपर रहेको पानी जम्ने खाल्टाखुल्टी पुर्ने, गमलामा जम्मा भएको पानी फाल्ने र रामखुट्टेको लार्भा फाल्नका लागि सचेतनामूलक कार्यक्रम वडावडामा पुर्याउन थालिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

डेङ्गुबाट जोगिन वनजङ्गलमा घाँस, दाउरा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउनुपर्छ ।