सिन्धुपाल्चोकमा अग्निलाई सकस (मोहन बस्नेतसँगको अन्तर्वार्ता)

पहिलो दल कांग्रेसले तेस्रो माओवादीलाई उम्मेदवार मान्दैन, अग्निजी समानुपातिमा जानुहोस्ः मोहनबहादुर बस्नेत

मोहनबहादुर बस्नेत पूर्वमन्त्री पनि हुनुहुन्छ । हक्की स्वाभावका बस्नेत यो पटक गठबन्धनका नाममा सिन्धुपाल्चोक १ बाट कांग्रेस बाहेकलाई उम्मेदवार बनाए भोट मागेर नहिँड्ने दाबी गर्नुहुन्छ । बहुमत अवस्थामा रहेको कांग्रेसले तेस्रो अवस्थामा रहेको माओवादीलाई उम्मेदवार स्वीकार नगर्ने उहाँको प्रष्ट अडान छ । उहाँसँग मैत्रीन्युजले गरेको कुराकानीः

अहिले सबै भन्दा बढी गठबन्धनमा चर्चा सिन्धुपाल्चोक १ को उम्मेदवारको विषयलाई लिएर छ । त्यहाँ कांग्रेसबाट मोहन बहादुर बस्नेत र माओवादीबाट अन्निप्रसाद सापकोटाका कारण पनि बढी चर्चा भएको हो । यो सन्दर्भमा तपाईँ के भन्नुहुन्छ ?

तालमेल र गठबन्धन भनेको कमजोर भएका ठाउँहरुमा एक भन्दा धेरै दलहरु मिलेर साझेदारीमा उम्मेदवार उठाएर चुनाव जित्ने भन्ने हो । अहिलेको गठबन्धन भनेको नेकपा (एमाले) ले कमजोरी गर्र्यो । त्यसैले उसको साइज घटाउनुपर्छ भनेर हो ।

अझ विगतलाई अलिकति केलाएर हेर्ने हो भने नेकपाकालमा एउटै पार्टीका दोस्रो अध्यक्ष प्रचण्डजी, वरिष्ठ नेता माधवकुमार नेपालजी उहाँहरुलाई पहिलो अध्यक्ष केपी शर्मा ओलीले टिक्न, खान नदिएपछि उहाँहरु हारगुहार गरेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्यो भनेर बुढानिलकण्ठमा धाउन थालेपछि कांग्रेसले मानिदिएको हो ।

उहाँहरुले त अहिले पनि हामीले पहिला जितेका ठाउँ हामीलाई चाहिन्छ भनेर दाबी गरिरहनु भएको छ नि ?

उहाँहरुले अहिले त्यसो भन्न मिल्दैन । त्यतिबेला माओवादी वा नेकपा समाजवादी एक्लैले जितेको होइन । उहाँहरुले अहिले यो कुराको हेक्का राख्नुपर्छ । त्योबेला नेकपाले जितेको हो । त्यतिबेला अधिकांश मत एमालेको थियो । मेरो जिल्ला सिुन्धुपाल्चोक मात्रै होइन देशभरी नै उहाँहरुले एमालेको मतले जित्नुभएको हो । त्यसैले अहिले उहाँहरुले पहिला जितेका ठाउँ चाहिन्छ भन्न मिल्दैन । मैले केन्द्रीय कमिटी बैठकमै यो भनाई राखेको हुँ । म अहिले पनि भन्छु– २०७४ सालको समानुपातिक भोट हेरौँ । सबैको हैसियत भनेको त्यहि हो । भर्खरै सम्पन्न स्थानीय तहको पनि प्राप्त मत हेरौँ । त्यसैलाई आधार बनाऔँ । जहाँ–जहाँ जस–जसले बढी प्राप्त गरेको छ, त्यहाँत्यहाँ त्यहि दलको उम्मेदवार बनऔँ । होइन, त्यसमा माओवादी, समाजवादी र अरु दलका केही नेतालाई व्यवस्थापन गर्नुपर्ने हो भने कहाँकहाँ छ कमजोर त्यहाँत्यहाँ तालमेल गरेर अरु पार्टी पनि मिलेर जिताउने गरी उहाँहरुलाई उम्मेदवार बनाऔँ ।

भनेपछि सिन्धुपाल्चोकमा पार्टीको हैसियत र सांगठनिक अवस्थालाई हेर्दा कांग्रेसकै उम्मेदवार बन्नुपर्छ भन्ने हो ?

हो, उम्मेदवार बनाउँदा पार्टीको आ–आफ्नो हैसियत, संगठनको अवस्था सबैलाई विर्सिएर ‘मेरो गोरुको बाह्रै टक्का’ भन्यो भने गठबन्धनको कुनै अर्थ रहँदैन र पूर्णरुपमा संभव पनि छैन । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को कुरा गर्नुहुन्छ भने यो क्षेत्रमा अग्नीजीले अघिल्लो पटक चुनाव जित्नुभएको थियो । त्यतिबेला यहाँ माओवादी तेस्रो स्थानमा थियो । कांग्रेस पहिलो र एमाले दोस्रो पार्टी थियो । त्यतिबेला राप्रपासहितको भोटले पनि अग्नीजीले प्राप्त गरेको मत ४० हजार हो । कांग्रेस एक्लै लड्दा मैले प्राप्त गरेको भोट ३० हजार हो । लोकप्रिय मतमा पनि हामी त्यतिबेला यो क्षेत्रमा २२ हजार भन्दा बढी मत ल्याउन सफल भएका थियौँ ।

अहिलेको अवस्थाचाँहि कस्तो छ, नि ?

त्यतिबेला मैले ८ जति बढी लोकप्रिय मत प्राप्त गरेको थिएँ । पछिल्लो समय मैले कोभिड, बाढी–पहिरोलगायतमा खटेको, साथीभाईहरुका लागि हामीले गरेको काम, विकास निर्माणमा गरेको योगदान जस्ता कुराले अहिले पार्टीको भोट बाहेक नै मैले करीब १५ हजार बढी लोकप्रिय मत प्राप्त गर्ने अवस्था छ ।

तपाईँले यस्तो दाबी गर्दैगर्दा सभामुख भैसक्नु भएक अग्नि सापकोटाले पनि त यो क्षेत्रमा केही काम गर्नु भएको होला नि ?

उहाँले केही सिन्को भाँच्नु भएको छैन । उहाँले मात्रै होइन पटक–पटक मन्त्री भैसकेका एमाले र माओवादीका प्रदेश र संघका मन्त्रीहरुले पनि यहाँका जनतालाई खुशी पार्ने गरी काम गर्न सकेका छैनन् । उहाँहरु सबैले गरेको काम र कांग्रेस एक्लैले गरेको काम तुलना गर्ने हो भने पनि आकाश–पातालको फरक छ । त्यसैले लु कम्युनिष्टहरु एक भए, अब मुलुक खाए भन्ने बेलाको मत र अहिले लु कम्युनिष्टहरु सकिए भन्ने बेलाको मत आकास–पातालको फरक हुन्छ ।

स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा कांग्रेसको अवस्था के–हो ?

स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्ने हो भने यो क्षेत्रका ५४ वटा वडामा हामी एक्लैले ३२ वटा वडा जितेका छौँ । एमाले, समाजवादी, माओवादीले ठाउँठाउँमा गठबन्धन गरेर लड्दा पनि जम्मा २२ वटा वडा छ । सात पालिका मध्ये ६ पालिकामा हाम्रो बहुमत छ । चौतारा–साँगाचोकगढी नगरपालिकाको पाँच वटा वडा जोडिएको मा दुई वटा एमाले दुई वटा कांग्रेसले जितेको छ । एउटा माओवादीले जितेको थियो । त्यो वडाको पूर्व मेयर हुनुहुन्थ्यो । उहाँले अहिले माओवादी छाडिसक्नु भएको छ । सुनकोशी, भोटेकोशी, त्रिपुरा सुन्दरी र बाह्रविसेलगायतका वडाहरुमा स्थानीय निकायको निर्वाचनमा उहाँहरुले एउटा वडा पनि जित्नु भएको छैन । त्यसकारणले गर्दा उहाँले दाबी गर्ने भन्ने कुरा बेकार हो ।

हामीलाई स्थानीय तहको निर्वाचनमा के अनुभव छ भने जबरजस्ती गठबन्धन गयार््े भने त्यसको परिणाम गलत आउँछ भन्ने हामीले बुझेका छौँ । मैले भन्ने गरेको छु– एक लिटरको जगमा पाँच लिटर पानी हाल्यो भने पोखिन्छ, अडिदैँन । त्यसैले जम्मा पाँच वटा वडा मात्रै जितेको माओवादीले ३२ वटा वडा जितेको कांग्रेसलाई होइन हामीलाई टिकट चाहिन्छ भन्ने कुरामा कुनै दम छैन । त्यसैले सिन्धुपाल्चोक कांग्रेसको भागमा पर्छ र सबैतिरबाट सर्वसम्मत मेरो नाममा भएकाले उम्मेदवार मै बन्छु । यसमा दुइमत छैन ।

भनेपछि माओवादीलाई उम्मेदवार बनाएर चुनावमा जाने सम्भावना शून्य छ ?

हो, त्यो अवस्था शून्य छ । जबरजस्ती भयो भने के–हुन्छ भन्ने स्थानीय तहको यहाँको उदाहरण प्रस्तुत गर्न चाहन्छु । जिल्ला समन्वय समितिमा एमाले र माओवादीको तालमेल भयो । तालमेल हुँदा माओवादीसँग त्यतिबेला चार भोट थियो । एमालेसँग सात भोट थियो । माओवादीले जबरजस्ती गरेर प्रमुख आफूले लियो र सात भोट भएको एमालेलाई उपप्रमुख दिएर त्यहाँ तालमेल भयो । परिणाम के भयो भने एमालेले भोट नै हालेन । अझ गज्जब के भयो भने माओवादीको चार भोट थियो । तर, उसैको उम्मेदवारले तीन भोट मात्रै पायो । त्यसैले गलत उम्मेदवार बन्यो भने आफ्नै पार्टीकाले समेत भोट हाल्दैनन् । अरु पार्टीको आशा नै नगरौँ ।

तपाईँले अग्नी सापकोटा गलत उम्मेदवार हो भन्न खोज्नु भएको हो ?

उहाँ सभामुख भएपछि सिन्धुपाल्चोकमा सिन्को पनि भाँच्नु भएको छैन । सांसद पूर्वाधार विकासकोषको पैसा बाहेक कतै काम भएको छैन । तर, मैले एकै पटक एकै दिन सात वटासम्म बहुवर्षीय योजना ल्याएको छु । तीन अर्व १८ करोडसम्म एकै पटक यहाँको विकासका लागि ल्याएको छु । काँग्रेसले जित्दा चाइनासँगको व्यापार कस्तो व्यवस्थित थियो । अहिले भद्रगोल छ । चुनाव जिताएर पठाउ, एक महिनामा नाका खोल्छु भन्नुभयो । चुनाव जितेर जानुभयो । त्यसपछि एकपटक फर्केर पनि उहाँ त्यहाँ पुग्नुभएको छैन । के मुखले भोट माग्न जाने ? यस्तो अवस्थामा उहाँ उम्मेदवार बन्ने कुरा गठबन्धनको भावना विपरीत हुन्छ । उहाँ समानुपातिकमा जानुहुन्छ ।

सिन्धुपाल्चोकमा मोहन बस्नेतको आवाज कमजोर भयो र अग्नी सापकोटा उम्मेदवार बन्नुभयो भने ?

त्यस्तो गलत निर्णय हुँदैहुँदैन । हाम्रो नेतालाई पनि हामी जस्ता धेरै व्यक्तिले जितेर गएपछि प्रधानमन्त्री हुनुपर्ने छ । कांग्रेसलाई सबै भन्दा ठूलो पार्टी बनाउनुपर्ने होला । भोलि कम्युनिष्टहरु विभिन्न नकाव लगाएर अघि बढ्ने सम्भावना हुन्छ । त्यो सबै बुझेका अनुभवी नेता कांग्रृेसमा हुनुहुन्छ ।

त्यसैले उहाँहरुले यस्तो गलत काम गर्नुहुन्न । कुनै बेला सिन्धुपाल्चोकमा कांग्रेस छ ? भनेर नेताहरुले सोध्नुहुन्थ्यो । अहिले कांग्रेस एक नम्बर पार्टी बनेको छ । सबै एकातिर र कांग्रेस एक्लै हुँदा पनि १ सय ३ वटा वडामा हामीले ५४ वटा वडा जितेका छौँ । यहाँको अवस्था यस्तो हो । वडा, पालिका, जनमत र अरु सबै हिसावले कांग्रेस सिन्धुपाल्चोकमा बलियो छ । यसरी बनाएको सिन्धुपाल्चोक १ मा अरु पार्टीलाई उम्मेदवार बनाएर भोट मागेर हिँड्ने कुरा सम्भव छैन । संघमा हामीले पायौँ भने जिल्लमा सबै गठबन्धनले जित्छ नभए भद्रगोल हुन्छ । त्यसैले यस्तो अप्रिय निर्णय हुँदैन ।