शैक्षिक परामर्श केन्द्रमा प्रहरीको व्यापक छापा : ९५ कन्सल्टेन्सीबाट ६९ जना पक्राउ

काठमाडौँ, १ जेठ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाका विभिन्न स्थानमा सञ्चालित ९५ वटा शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थाहरूमा एकैसाथ छापा मारेको छ । शैक्षिक परामर्शका नाममा ठगी र अवैध कारोबार भइरहेको जनगुनासोका आधारमा प्रहरीले शुक्रबार यो विशेष अपरेसन चलाएको हो ।

प्रहरीले छापा मार्ने क्रममा विभिन्न कन्सल्टेन्सीका सञ्चालक र कर्मचारी गरी ६९ जनालाई नियन्त्रणमा लिएको छ । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि प्रारम्भिक सोधपुछ र कागजातहरूको ‘स्क्रिनिङ’ भइरहेको छ ।

“हामीले विशेष सूचनाका आधारमा उपत्यकाका ९५ वटा संस्थामा अनुगमन र छापा मारेका हौँ,” एसपी कार्कीले भन्नुभयो, “पक्राउ परेकाहरूमध्ये संलग्नताका आधारमा दोषी देखिएकाहरूमाथि थप कानुनी प्रक्रिया अघि बढाइनेछ ।”

प्रहरीले विशेषगरी दर्ता विना सञ्चालनमा रहेका, वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई नक्कली कागजात बनाइदिने, चर्को शुल्क असुलेर ठगी गर्ने र अवैध रूपमा विदेशी मुद्राको कारोबार गर्ने आशङ्कामा यी संस्थाहरूमा छापा मारेको हो ।

पछिल्लो समय शैक्षिक परामर्शको आडमा मानव तस्करी र वित्तीय अपराधका घटनाहरू बढ्दै गएपछि प्रहरीले आफ्नो सक्रियता बढाएको छ । पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको र केही संस्थाहरूको कागजात समेत जफत गरिएको प्रहरीले जनाएको छ ।